धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा हिजोदेखि सञ्चालनमा आएको ल्याबमा परीक्षणको लागि स्वाबको नमुनाहरु संकलन हुन थालेको छ ।

प्रतिष्ठानका अनुसार आज दिउँसोसम्म ६ जनाको स्वाब संकलन भएको छ । प्रतिष्ठानले दिएको जानकारी अनुसार मेचीबाट २ वटा, तेह्रथुमबाट एउटा, विराटनगरबाट एउटा र धनकुटाबाट एउटा स्वाब संकलन भएको छ । एउटा स्वाब प्रतिष्ठानको आइसोलेसनमा रहेका व्यक्तिको पनि स्वाब लिइएको छ । ती स्वाबहरु तत्काल परीक्षण भने हुदैन । कम्तीमा १० देखि १२ वटा नमुना संकलन भएपछि मात्र एकै पटक परीक्षण गरिने प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका उपकुलपति प्रा.डा.गुरुप्रसाद खनालले स्वाबहरु संकलन भइरहेको र न्युनतम संख्या भएपछि परीक्षण गरिने बताए ।

अहिलेसम्म १९ वटा स्वाब परीक्षण गर्न काठमाण्डौं पठाइएकोमा सबै नेगेटिभ नै आएको थियो । प्रतिष्ठानमा आज दिउँसो २१ जना जाँचको लागि सम्पर्कमा आएका थिए । उनीहरुलाई सेल्फ आइसोलसनमा नै पठाइएको छ । अहिलेसम्म प्रतिष्ठानको हेल्प डेस्कमा कुल ११३ जनाको स्क्रिनिङ भएको छ । ती मध्ये ९३ जना सेल्फ आइसोलेसनमा पठाइएको छ भने १० जना सरकारले बनाएको क्वारेन्टाइनमा पठाइएको छ ।

report