धरान: लकडाउनलाई कसरी अझै प्रभावकारी बनाउने भन्नेबारे छलफल गर्न धरान उपमहानगरपालिकाले आज सर्वदलीय र सुरक्षा संयन्त्रको बैठक बोलाएको छ ।

उपमहानगरपालिकामा आज दिउँसो १ बजे सर्वदलीय बैठक बोलाइएको छ । उक्त बैठकमा धरानका पुर्व नगरप्रमुख तथा अगुवाहरुलाई पनि निमन्त्रणा गरिएको मेयर तिलक राईले बताए । ‘यो बेला पक्ष विपक्ष भन्ने होइन । सबै मिलेर लाग्ने बेला हो,’उनले भने,‘अहिले कुन संस्था, व्यक्ति, दलले भन्दा पनि पाउनुपर्ने परिवारले पाउनुपर्छ, राहत एकद्धार प्रणालीबाट विरतण हुनुपर्छ भन्ने हो ।’

मेयर राईका अनुसार नगरस्तरमा राहत संकलन र वितरणमा अनुगमनको लागि सर्वदलीय संयन्त्र गठन गर्ने, वडामा पनि वितरण नियमन गर्न सर्वदलीय संयन्त्र बनाउनेबारे छलफल हुनेछ । साथै, हालसम्म उपमहानगरपालिकाले गरेका कामहरुबारे पनि सर्वदलीय बैठकमा जानकारी गराइनेछ ।

सर्वदलीय बैठकलगत्तै सुरक्षा संयन्त्रको बैठक करिब ३ बजे हुनेछ । यो बैठक लकडाउनलाई कसरी प्रभावकारी बनाउने भन्नेमा केन्द्रीत हुनेछ । धरान प्रवेश गर्ने नाकाहरु सिल गर्ने सुझाव धेरैतिरबाट आएकोले त्यसबारेमा पनि दुवै बैठकमा छलफल हुने मेयर राईले बताए । ‘नाका सिल गर्ने सुझाव धेरैतिरबाट आएको छ, यसबारेमा पनि छलफल हुन्छ,’उनले भने,‘वडाहरुबाट लकडाउनमा पनि खोलातिर घुम्न गएको, दाउरा खोज्न गएको कुराहरु आएको छ, त्यसलाई थप कसरी प्रभावकारी बनाउने ? सुरक्षा संयन्त्र चुस्तदुरुस्त पार्ने भनेर छलफल हुन्छ ।’