सुनसरी: साहित्यकार उपेन्द्र पागलको आज दिउँसो निधन भएको छ । सुनसरीको मधेशास्थित आफ्नै निवासमा उनको निधन भएको डा.भिम खतिवडाले जानकारी दिए ।

लेखनमा उपेन्द्र पागल नामले परिचित उनको खास नाम उपेन्द्र बहादुर बस्नेत हो । उनी ७७ बर्षका थिए ।उनलाई पछिल्लो समय दमको समस्या थियो । चित्रकलामा पनि पोख्त उनी साहित्य लेखनमा कविता, कथा, गीत, गजल, समालोचनालगायत विविध विधामा कमल चलाउथे । उनका थुप्रै पुस्तकहरु प्रकाशित छन् भने कतिपय पाण्डुलिपीकै रुपमा रहेको उनलाई नजिकबाट चिन्ने डा.खतिवडा बताउँछन् ।

पछिल्लो समयमा उनको उराँव जातिको साँस्कृतिक अध्ययन नामको पुस्तक प्रकाशनको तयारीमा थियो । यो पुस्तकको सम्पादन डा.खतिवडाले नै गरिरहेका छन् । यस्तै, कविताहरुको सम्पादन पनि भइरहेको छ । ‘उहाँ बहुआयामिक व्यक्तित्व हुनुहुन्थ्यो, उहाँको अभाव खड्किरहन्छ,’डा.खतिवडाले भने । स्वर्गीय बस्नेत इनरुवा नगरपालिकाले गठन गरेको प्रज्ञा प्रतिष्ठानका प्रमुख पनि थिए भने यसअघि नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञसमेत भइसकेका थिए । उनलाई नगरपालिकालगायत विभिन्न संघसंस्थाहरुले अभिनन्दन पनि गरेको थियो ।