विराटनगर: प्रदेश एकको कोरोना जनसुरक्षा कोषमा हालसम्म साढे ११ करोड भन्दा बढी रकम जम्मा भएको छ ।

सोमबारसम्म कुल ११ करोड ६५ लाख ११ हजार ८ सय ३१ जम्मा भएको मुख्यमन्त्री कार्यालयले जानकारी दिएको छ । कोषमा सोमबार थप ५ लाख ९२ हजार ७ सय ४२ रुपैयाँ प्राप्त भएको छ । कोषमा आइतबारसम्म रु. ११ करोड ५९ लाख १९ हजार ८९ रुपैयाँ जम्मा भएको थियो ।

कोरोना भाइरसको रोकथाम, प्रतिरक्षा र उपचारका लागि प्रदेश सरकारले कोषको स्थापना गरेको हो । राष्ट्रिय बाणिज्य बैङ्क विराटनगर शाखाको कोरोना जनसुरक्षा कोष खाता नं २१२०००५८८१०१ मा जम्मा गर्न तथा फोन पेबाट पनि रकम जम्मा गर्न सकिने मुख्यमन्त्री कार्यालयले जनाएको छ । कोषमा बैंक, संघसंस्था, उद्योगी, व्यवसायी तथा विभिन्न क्षेत्रका दाताबाट सहयोग जुट्ने क्रम जारी रहेको छ ।