धरान:राहत कोषको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी, डाक्टर एवं कर्मचारीसँग आर्थिक सहयोग मागिएको पत्र बाहिरिएपछि पक्ष, विपक्षमा चलिरहेको वहसमा कांग्रेसका नेता, पुर्वमन्त्री एवं सांसद मिन विश्वकर्मा पनि होमिएका छन् ।

वीपी प्रतिष्ठानलाई पठाएको पत्र फेसबुकमा राख्दै नेता विश्वकर्माले धरान उपमहानगरपालिकाले चिकित्सक एवं स्वास्थ्यकर्मीहरुलाई हतोत्साहित गर्ने काम भएको टिप्पणी गरेका छन् । उनले युद्ध मैदानमा रहेका सिपाही भन्दा खतरा एवं त्रासदीपुर्ण अवस्थामा आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका चिकित्सक एवं स्वास्थ्यकर्मीहरुको थप सुरक्षा तथा उचित विमाको लागि स्थानीय सरकार वा जनप्रतिनिधिमुलक निकायले माग गर्नुपर्नेमा धरानले अन्यथा निर्णय गरेर हतोत्साहित गरेको पनि आरोप लगाएका छन् । ‘यदी यही सत्य हो भने तत्काल सच्याउन सम्बन्धित सबैको ध्यानाकर्षण गराउदछुँ,’कांग्रेस केन्द्रीय सदस्य विश्वकर्माले लेखेका छन्,‘युद्धमा खटिएका सिपाहीसँग आर्थिक चन्दा वा लेवी उठाउनु कदापि उचित अभ्यास हुन सक्दैन ।’

धरानका मेयर तिलक राईले हस्ताक्षर गरेको पत्र सोमबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमा बाहिरिए पछि तीब्र आलोचना भइरहेको छ । कतिपयले भने मेयर राईको बचाउ गरिरहेका छन् । पत्रमा वीपी प्रतिष्ठानको पदाधिकारीको १५ दिनको पारिश्रमिक र डाक्टरलगायत कर्मचारीको १० दिनको पारिश्रमिक राहत कोषमा उपलब्ध गराउन अनुरोध गरिएको छ ।