यतिबेला संसार कोभिड–१९ अर्थात कोरोना भाइरसबाट आक्रान्त बनेको छ । यो भाइरसको प्रभावका कारण हाम्रो देश नेपाल पनि बिगत दुई हप्तादेखि लकडाउनको अवस्थामा छ । विकासको गतिमा प्रतिष्पर्धा गर्दै गरेका विश्वका शक्ति सम्पन्न राष्ट्रहरुलाई समेत घुँडा टेकाई सकेको यो विश्व महामारी नियन्त्रण गर्न हाम्रो देशलाई निकै ठूलो चुनौति छ । तसर्थ हामी सबै यो विपत्तिमा हातेमालो गरेर सामना गर्नुपर्छ ।
महामारी नियन्त्रण बाहिर गएर लकडाउनको समय अझै थप्नु परेमा विविध चुनौतिसँगै एक प्रमुख चुनौतिको रुपमा विपन्न समुदायमा खाद्य संकटको चुनौति आउने देखिन्छ । यस्तो स्थिति आएमा विशेष गरी ज्याला मजदुरी गरेर दैनिक जीविकोपार्जन गर्दै आएका हुँदा खाने वर्ग मजदुर किसान सुकुम्बासी र बेरोजगार युवाहरुमा महामारीपछि भोकमरी आउने प्रवल सम्भावना छ । यी र यस्ता वर्ग बसोबास रहेको एउटा ठूलो जमात सुकुम्बासी समुदाय हो ।
दुई हप्ते लकडाउनले समेत यी समुदायमा ठूलो खाद्य संकट उत्पन्न गरिसकेको छ । तसर्थ सरकारले यस्ता समुदायका लागि प्याकेजमै विशेष राहतको व्यवस्था मिलाउन जरुरी छ । देशभरमा करीब १० लाख घर परिवारमा ६० देखि ७० लाख सुकुम्बासी भूमिहिन र अव्यवस्थितको जनसंख्या रहेको छ । यस मध्ये ८० प्रतिशत दैनिक काम गरेर खाने भएकाले लाकडाउनका कारण काम नभएपछि यी वर्ग समुदाय खाद्य संकटमा परेका छन् । त्यसकारण यी वर्ग समुदायको खाद्य संकटको बलियो समाधान नै महामारी नियन्त्रण प्रभावकारी उपाय हुनसक्छ । तसर्थ यस विषयलाई स्थानीय प्रदेश र संघीय सरकारले गम्भीर ध्यान दिन जरुरी छ ।
यस्ता समुदायमा राहत उपलब्ध गराउँदा फोटो खिचाएर नाम कमाउने हिसावले नभएर लकडाउन अवधिभर पेट भरि खान पुग्ने गरी प्रत्येक घरमा राहत पुर्याउन आवश्यक छ । मजबुरीले राहत थापेका गरीबको फोटो खिचेर फेसबुकमा हालेर मजाक नगर्न समेत आग्रह छ । यो सुकुम्बासीको बाध्यता हो यसलाई सस्तो लोकप्रियता कमाउने माध्यम नबनाउँदा नै राम्रो हुन्छ ।
हामी अरुको दुःख र गरीबिमा रमाउँछौं तर गरीबलाई पनि कसरी धनी बनाउने भन्ने विषयमा सोच्दैनौं । त्यसैको उपज हो, हरेक विपत्तिमा राहतको चलन । यो कुरालाई पनि हामीले मनन गर्दा जरुरी छ । हामी विपतको घडीमा उभिएका छौ, यो विपत्तिलाई सामना गर्न नेपाल सरकार र विश्व स्वास्थ्य संगठन (WHO) ले गरेका नियमको पूर्ण पालना गर्दै सकेसम्म देश भित्रै उत्पादित खानेकुरा मात्र प्रयोग गरौं ।
विश्वका शक्ति सम्पन्न राष्ट्रहरुले समेत नियन्त्रण गर्न नसकेको यो महामारीलाई हामी इमान्दारीपूर्वक एक भएर परास्त पारौं छिमेकी छिमेकी बीचमा अधिक भाइचारा कायम गर्दै छिमेकीको विपत्तिमा सहयोग गरौं । महामारीको संकटलाई समाधान गर्न हुने खानेले हुँदा खानेलाई यो बेला सकेसम्म खुल्ला छाति बनाएर सहयोग गर्दै महामारीलाई परास्त पारौं । यो महामारीलाई नियन्त्तण गर्न सकिएन भने संसारमा हाम्रो देशले बढी क्षति बेहोर्नु पर्नेछ । तसर्थ विवेक पु¥याउन अति आवश्यक छ ।
यो रोग हाम्रो देशमा नआवस हामी सबैले यही कामना गरौं विज्ञानको गतिमा बामे मात्र सर्दै गरेको हाम्रो देशसँग नियन्त्रणका लागि उपकरण समेत पर्याप्त छैनन् । त्यसर्थ हिजो हाम्रा बीर पुर्खाले अंग्रेजसँग लडेर रचेको इतिहास पूर्ण कोरोनालाई परास्त पारेर दोस्रो इतिहास रच्ने अवसर आएको छ । त्यसैले यसलाई मिलेर परास्त पारौं बाँकी अर्को सन्देशमा भेटौंला ।
(लेखक नेपाल बसोबास बस्ती संरक्षण समाजका महासचिव हुन् )