धरान: श्रम सँस्कृति पार्टीले समानुपातिकतर्फका ४ जना सांसदको नाम टुंगो लगाएर निर्वाचन आयोगलाई सिफारिश गरेको छ । 

आज बिहान धरान १२ स्थित होटल गोर्खामा बसेको केन्द्रीय कार्यसमिति बैठकले ४ जना सांसदहरुको नाम टुंगो लगाएको हो । श्रम सँस्कृतिले समानुपातिकतर्फ ४ सिट जितेको छ । आकांक्षी उम्मेद्वारहरु धेरै भएपछि श्रम सँस्कृतिलाई समानुपातिक उम्मेद्वार छान्न निक्कै सकस भएको थियो । 

आज बसेको बैठकले आदिबासी जनजातितर्फ पुर्व गोर्खा क्याप्टेन पुर्णप्रसाद लिम्बू, खस आर्य महिलातर्फ अम्बिकादेवी संग्रौला, दलि महिलातर्फ राधिका रम्तेल र मधेशी महिलातर्फ रुबीकुमारी ठाकुरलाई सांसद बनाउने निर्णय गरेको पार्टीका प्रवक्ता सत्य घले गुरुङले जानकारी दिए । 

यसअघि विभिन्न मिडियाहरुमा आदिबासी जनजाति महिलातर्फ पहिलो नम्बरमा रहेकी मन्दिरा मोक्तान पनि सांसदकोरुपमा प्रचार गरिएको थियो । तर, प्रवक्ता घलेले पार्टीले निर्णय गर्नुअघि नै अफवाह फैलिएको र आधिकारिक निर्णय आजको बैठकले गरेको बताए । 

उनका अनुसार खसआर्य पुरुषबाट जीवन बिष्टको नाम पनि पार्टीले आयोगमा पठाएको थियो । तर, महिला ३ जना पठाउनै पर्ने भएकोले बिष्टको नाम फिर्ता गर्नुपरेको उनले बताए । 

shram saskriti samanupatik

‘पुरुष एक जना मात्र नाम पठाउनुपर्ने भएकोले सम्पुर्ण गोर्खा सैनिकहरुको प्रतिनिधित्व संसदमा हुने गरि आदिबासी जनजाति पुरुषबाट क्याप्टेन पुर्ण लिम्बूलाई पठाउने निर्णय भयो । यसमा जीवन बिष्ट जीको पनि सहमति नै रहेको छ,’ उनले भने,‘आदिबासी जनजाति महिलामा एक नम्बरमा रहनुभएको मन्दिरा जीसँग पनि सहमतिमै ३ जना महिला सांसदको नाम निर्णय भएको हो ।’

आदिबासी जनजाति पुरुषबाट सांसद भएका पुर्वगोर्खा क्याप्टेन लिम्बूको जन्मथलो संखुवासभा घर भएपनि हाल धरानमा बस्दै आएका छन् । उनी सन् २००८ मा ब्रिटिश गोर्खा क्याप्टेनबाट अवकाश पाएपछि नेपाल फर्केर निरन्तर सामाजिक कार्यहरुमा आफुलाई समर्पित गरेका थिए । उनी गीतकार, गायक, अभिनेता पनि हुन् । 

यस्तै, खसआर्य महिलाबाट सांसद बनेकी अम्बिकादेवी संग्रौला पनि हाल धरान १३ मा बस्दै आएकी छिन् । पार्टीको केन्द्रीय सदस्य रहेकी उनी सक्रिय श्रमदाता अभियन्ता थिइन् । यस्तै, दलित महिलाबाट छानिएकी राधिका रम्तेल सुर्खेतकी हुन् भने मधेशी महिलाबाट छानिएकी रुबीकुमारी ठाकुरको उमेर मात्र २६ बर्ष रहेको प्रवक्ता घलेले जानकारी दिए । ‘उहाँ हाम्रो जेनजी समानुपातिक सांसद बन्नुहुनेछ । उमेर मात्र २६ बर्षको हो,’ प्रवक्ता घलेले भने,‘ओभरसियर पढीसकेको र अहिले सिभिल इञ्जिनियरीङ पढ्दै गर्नुभएको जेनजी हुनुहुन्छ ।’

भिडियो: