धरान: इरानसँग इजराल र अमेरिकाको युद्ध लम्बिएसँगै पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यास अभाव हुने हल्ला चले पनि अवस्था सामान्य रहेको प्रशासनले जनाएको छ ।
ग्यासको अवस्थाबारे बुझ्न आइतबार इलाका प्रशासन कार्यालय धरानले डिलरहरुमा अनुगमन गरेको थियो । इलाका प्रशासन प्रमुख फडिन्द्र दाहालको नेतृत्वमा धरानका ग्याँस डिलरहरुको अनुमगन गरिएको थियो । ‘हामी १० वटा जति डिलरहरुमा गयौं । अवस्था सामान्य नै रहेको पाइयो,’ दाहालले भने,‘ग्यास पाइएन भन्ने कोही पनि भेटिएन । ग्याँस सप्लाई भैरहेको नै छ । मानिसहरुले स्टक लगिसकेको पाइयो ।’

इरानसँग इजराइल–अमेरिका युद्धको कारण पेट्रोलियम पदार्थ र ग्यास आपूर्तिमा अवरोधको कारण देखाउदै बजारमा कृत्रिम अभाव सृर्जना गरेर कालोबजारी हुने सम्भावनालाई मध्यनजर गर्दे प्रशासनले अनुगमन थालेको हो । सरकारले नै खाना पकाउने ग्याँस आधा सिलिण्डर मात्र बिक्री गर्न निर्देशन दिएसँगै कम्पनीले सोही अनुरुप आधा सिलिण्डर मात्र उपभोक्तालाई बिक्रीवितरण गरिरहेको छ । ‘अनुगमन हाम्रो नियमित काम नै हो, आज ग्याँसको मात्र गर्यौं, अरु पनि नियमितरुपमा गर्दै जान्छौं,’ इलाका प्रशासन प्रमुख दाहालले भने ।
ग्यासको अनावश्यक बढी मौज्दात नगर्न प्रशासनको निर्देशन
जिल्ला प्रशासन कार्यालय सुनसरीले खाना पकाउने एलपिजी ग्याँस उत्पादक, वितरक र डिलरहरुलाई विभिन्न ८ बुँदे निर्देशन जारी गरेको छ । सुनसरीका सहायक प्रजिअ घनश्याम न्यौपानेले एक सुचना जारी गर्दै अनुगमन गर्दा निर्देशन विपरीत कार्य गरेको भेटिए कानून बमोजिम कारबाही गर्ने पनि उल्लेख गरेका छन् ।

प्रशासनले एलपिजी ग्यासको अनावश्यक बढी मौज्दात नराख्न, उपभोक्तालाई ग्यास वितरण प्रणाली पारदर्शी बनाउन, पालो प्रणालीमार्फत उपभोक्तालाई सहजरुपमा ग्यास उपलब्ध गराउन प्रशासनले निर्देशन गरेको छ । यस्तै, नयाँ सिलिण्डर किन्न उपभोक्तालाई बाध्यात्मक अवस्था सृर्जना नगर्न, एउटा कम्पनीको डिलरले अर्को कम्पनीको सिलिण्डर भण्डारण गरी बिक्री वितरण नगर्न, बजार मुल्यभन्दा बढी मुल्य असुल नगर्न पनि प्रशासनले निर्देशन दिएको छ ।
यसैगरि, सबै डिलरहरुले उद्योगबाट खरिद गरिएको ग्याँसको परिमाण, बिक्री र मौज्दातको विवरण व्यवस्थितरुपमा राख्न साथै बिक्रेताहरुले ग्यास बिक्री गरेपश्चात ग्राहकहरुको विवरण (नाम र सम्पर्क नं.) अनिवार्यरुपमा राख्न पनि प्रशासनले निर्देशन दिएको छ ।








