धरान:लकडाउनको समयमा धरानमा खाद्यँन्नको अवस्था के छ ? सुनसरी उद्योग वाणिज्य संघ धरानले यसबारेमा अध्ययन गरेर तथ्यांक निकाल्ने भएको छ ।
सुनसरी उद्योग वाणिज्य संघको आज बसेको सचिवालय समितिको बैठकले खाद्यान्नको वास्तविक अवस्था पत्ता लगाउन तथ्यांक निकाल्ने निर्णय गरेको हो । लकडाउनबाट धरानमा खाद्यान्नको अभाव हुन नदिन आवश्यक सामाग्रीहरु उपलब्ध गराउनको लागि संघले यो पहल थालेको जनाएको छ । यसको लागि वाणिज्य सचिव सिताराम आचार्यको संण्योजकत्वमा खाद्यँन्न तथ्यांक संकलन उपसमिति नै गठन गरिएको अध्यक्ष गिरीधारी सापकोटाले जानकारी दिए । समितिले धरानका खुद्रा पसल र होलसेल पसलमा दाल, चामल, तेल, नुन लगायतका सामाग्रीहरु कति मौज्दात छ भनेर अध्ययन गर्नेछ । यस्तै, ती सामाग्रीले कति दिनसम्म उपभोक्तालाई पुग्छ भन्ने पनि यथार्थ विवरण विश्लेषण गर्नेछ ।
रक्त संकलन उपसमिति पनि गठन
रगत अभावलाई पूर्ति गर्न स्वेच्छिक रक्तदानको आह्वान गरेको संघले उपसमिति नै गठन गरेको छ । संघका कार्यसमिति सदस्य प्रभाव खतिवडा संयोजक रहने गरी रक्त संकलन उपसमिति गठन गरिएको हो । समितिले इच्छुक रक्तदाताहरुलाई वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित ब्लड बैंकमा रक्तदान गर्न पुर्याउन सहजीकरण गर्नेछ ।
तीन वा तीन जना भन्दा बढि रक्तदाता भएमा उचित स्थानमा नै रक्तदान गर्ने व्यवस्था मिलाइने संघका सदस्य विष्णु वरालले जानकारी दिए । उनका अनुसार धरान उपमहानगरपालिकाले स्थापना गरेको फुड बैंकमा हालसम्म संघले ७५० लिटर खानेतेल, १२५० किलो नून र २६०० थान साबुन उपलब्ध गराईसकेको छ । साथै, आवश्यकता अनुसार पुनः चामल उपलब्ध गराउने पनि निर्णय गरेको छ ।