धरान: धरान ४ स्थित वसन्तटार नेपालकै चर्चित अर्गानिक गाउँ हो । यो गाउँलाई अर्गानिक बनाउने अभियन्ता हुन्, कृष्ण राई ।

कृष्ण राईको अर्गानिक खेतीको अभियानले वृहतरुप लिइसकेको छ । उनी नमुना कृषक बनेका छन् । उनको अर्गानिक खेती अन्य किसान, संघसंस्था एवं विद्यार्थीहरुको लागि अध्ययन थलो पनि भएको छ । अहिले लकडाउनको बेला पनि उनको कृषि कर्म र ब्यस्तता उस्तै छ । उनलाई पत्नी शान्तिसहित परिवारका सबै सदस्यहरुले साथ दिएका छन् । लकडाउनले गर्दा हरियो तरकारीको माग झनै बढेको छ ।

krishna-shanti

अर्गानिक अभियन्ता कृष्ण राईकी पत्नी शान्ति राई ।

 अहिले उनको फर्ममा इजरायली हरियो काक्रा लहलह उत्पादन भएको छ । यो काक्रा असाध्यै मिठो छ । उनकै शब्दमा भन्ने हो भने यो काक्राको नाइटो नझरीकनै खादा स्वादिलो हुन्छ । यो काक्रा सानैमा खाने हो । ठुलो भएर खादा स्वादमा खल्लोपना हुन्छ । ‘यसको नाइटो, फुल नझरी खादा धेरै राम्रो स्वाद आउछ । यसको उत्पादन पनि राम्रो छ,’उनले भने,‘उपभोक्ताहरुले पनि धेरै मनपराउनु भएको काक्राको प्रजाति यो हो ।’ राईका अनुसार यो काक्रालाई नेपालमा इजरायली काक्रा भनेर चिनिन्छ ।

कोल्ड स्टोर बन्ने

घरको आँगनमा टनेलभित्र इजारायली काक्रा फलेको छ । केही समय पछि भने त्यहाँ कोल्ड स्टोर बन्नेछ । कृषि विकास बैंकले उनलाई उत्कृष्ट कृषकको सम्मान गरेको थियो । बैंकले उनलाई सम्मान स्वरुप सपोर्ट गर्ने भनेपछि उनले तालिम हल र कोल्डस्टोरको माग गरेका थिए । बैंकले उनलाई कोल्डस्टोरमा ६० प्रतिशत लगानीमा सपोर्ट गर्ने भएको छ । ‘यो उत्पादन सकेपछि यहाँ मिनि कोल्डस्टोर बन्छ, त्यसपछि बजारमा सबै खपत नभएको तरकारीहरु स्टोर गर्न सहज हुन्छ,’उनले भने ।

 krishna-rai1