धरान: सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड बिर्तामोडअन्तरगतको धरान सेवा केन्द्रले धरान उपमहानगरपालिकाको राहत कोषमा आर्थिक सहयोग गरेको छ ।

कोरोना भाइरस संक्रमणको रोकथाम तथा जोखिम कम गर्न सक्रिय धरान उपमहानगरपालिकालाई सहारा नेपालले ५० हजार रकम सहयोग गरेको हो । स्थानीय तह बिपत व्यवस्थापन समन्वय समितिहरुको सहकार्यमा धरानकी उपप्रमुख मञ्जु भण्डारीलाई आज नगद ५० हजार बराबरको चेक हस्तान्तरण गरिएको अनुगमन अधिकृत महेश तामाङ्ग ले जानकारी दिए । केन्द्र प्रमुख प्रमिला अर्याल र रामपुर सेवा केन्द्र प्रमुख दिलीप गिरी, कर्मचारीहरु संजय प्रधान र लक्ष्मी कार्कीले चेक हस्तान्तरण गरेका थिए । धरानका अतिविपन्न परिवारलाई खाद्यान्न सामग्री खरीदको लागि सहयोग गरिएको सहारा नेपालले जनाएको छ ।

संस्थाले कार्यक्षेत्र रहेको ६ जिल्लाका स्थानीय निकायहरुसँग समन्वय गरेर ५० लाख बराबरको आर्थिक एवं खाद्यान्न राहत उपलब्ध गराउने निर्णय गरेको छ भने सहकारीले विपत सापटी रकम बिना व्याज २ महिनामा फिर्ता गर्ने योजनाको पनि घोषणा गरेको छ । अर्थतन्त्रलाई चलायमान राख्न सदस्यमुमी कार्यक्रमअन्तरगत ७ करोड रुपैयाको विपत सापटी रकम विना ब्याज २ महिनामा फिर्ता गर्ने योजना घोषणा गरिएको सहकारीका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले जानकारी दिएका छन् ।

विज्ञप्तीमार्फत कार्यकारी प्रमुख गिरीले प्रतिसदस्य बढीमा ५ हजार दिने संस्थाले घोषणा गरेको र हालसम्म यस किसिमको सापटी ५ हजार २ सय २९ सदस्यलाई १ करोड ९३ लाख ४० हजार ५ सय पनि वितरण भइसकेको जानकारी गराएका छन् । धरान सेवा केन्द्र अन्तरगत ३८ जनालाई १ लाख ३३ हजार सापटी वितरण गरिसकेको सेवा केन्द्र प्रमुख प्रमिला अर्यालले जानकारी दिएकी छिन् ।