इटहरीः उपमहानगरपालिकाले बनाएको जनता बहुुमुखी क्याम्पसको क्वारेन्टाइनमा रहेका एक व्यक्ति भागेपछि स्थानीय त्रसित बनेका छन् ।

एक सय क्षमताको क्वारेन्टाइन इटहरी उपमहानगरपालिकाको प्रमुख क्वारेन्टाइन हो । यसको सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको छ । सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको निगरानीमा हुने उक्त क्षेत्रबाट कसरी ति व्यक्ति भागे भन्ने खुलेको छैन । तर, उक्त क्याम्पस परिसर पचरुखीका स्थानीय भने त्रसित छन् । ती व्यक्तिमा कोराना छ, छैन पुष्टि भएको छैन । तर, ती व्यक्ति भारतीय नागरिक भएकोले कतै कोरोना संक्रमित त छैनन् ? भन्ने भयले पचरुखीवासी त्रासित बनेका हुन् । 

स्थानीय युुवा प्रकाश भट्टराईले क्वारेन्टानमा बसेका युवा भागेपछि गाउँमा आतंक मच्चिएको जानकारी दिए । उनका अनुसार ती युवा क्याम्पसदेखि गाउँसम्म भाग्दै हिँडेका थिए भने हातमा चाउचाउ खाँदै आएका थिए । ती व्यक्तिले चाउचाउ किनेको ठाउँ र हिडेको स्थानलाई सेनिटाइज गरिदिन गाउँलेको माग रहेको भट्टराइले बताए । अर्का स्थानीय बासिन्दा रामप्रसाद चौलागाईले आफु र टोलका छिमेक भयभित भएको प्रतिक्रिया दिएका छन् ।

त्यस्तै स्थानीय युवा प्रमोद भट्टराईले भागेका ती व्यक्तिलाई स्थानीयले सोध्दा भोक लागेर भागेको प्रतिक्रिया दिएको जानकारी दिएका छन् । उनले उक्त क्वारेन्टाइनमा भरपर्दो व्यवस्था नभएको संकेत मिलेको भन्दै तुरुन्तै नगरपालिकाले क्वारेन्टाइनमा राखेका व्यक्तिलाई चाहिने खाद्यान्न र अन्य स्वास्थय उपकरणको व्यवस्था गिरिदिनुपर्ने बताए । ‘यो त हद लापरवाही भयो,’उनले भने,‘यहाँको व्यवस्थापन उच्च र गुुणस्तरीय छ भनेर समाचारमा पढेको कुरा सत्य नभएको प्रमाणित भयो ।’ नगरले यो व्यवस्थाले कलेज छेउमा घर भएका स्थानीय त्रसित भएको उनको भनाई छ ।

यता नगरले भने गाउँमा कसैलाई बाहिर ननिस्कन आग्रह गरेको छ । केहि बेरपछि सेनिटाइज गर्ने तयारी रहेको बुझिएको छ । इटहरीको जनता बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टाइनबाट आज बिहान एक व्यक्ति भागेका थिए । उनलाई केही बेरमा नेपाली सेनाले समातेको थियो । उनीसहित १२ जनालाई केहि दिन अघि इटहरी उपमहानगरपालिकाले सो क्वारेन्टाइनमा राखेको थियो । हाल उक्त क्वारेन्टाइनमा २० व्यक्ति रहेको नगरपालिकाका प्रेस सल्लाहकार लिलाराज भट्टराईले जानकारी दिएका छन् । त्यहाँ १३ जना भारतीय छन् भने अन्य नेपाली छन् ।