धरान: हिजो मंगलबार र्यापिड डायग्नोष्टिक टेष्ट(आरडिटि) गर्दा पोजेटिभ रिपोर्ट आएको सप्तरीका दुई युवाको पिसिआर परीक्षण गर्दा भने रिपोर्ट नेगेटिभ आएको छ ।

भारतको दिल्लीस्थित कार्यक्रममा सहभागी भएर आएका ७ युवाको र्यापिड टेष्ट गर्दा मंगलबार २ जनाको पोजेटिभ रिपोर्ट आएको थियो । त्यसपछि, ती दुई युवालाई गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो भने सातै जनाको स्वाब परीक्षण गर्न वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ल्याइएको थियो ।

वीपीमा गरिएको पिसिआर परीक्षणबाट हिजो पोजेटिभ रिपोर्ट आएका दुई युवासहित सप्तरीका सातै युवाहरुको रिपोर्ट नेगेटिभ आएको छ । ‘हामीले हिजो पोजेटिभ रिपोर्ट आएको २ जनासहित ७ जनाको स्वाब धरान पठाएका थियौं, आज सबैको रिपोर्ट नेगेटिभ आएको छ,’सगरमाथा अस्पतालका मेडिकल सुपरिटेन्ट डा.चुमनलाल दासले भने ।

प्रतिष्ठानका सहप्रवक्ता डा.अशोक ऐरका अनुसार अहिलेसम्म प्रतिष्ठानको माइक्रोवायोलोजी ल्याबमा कुल १९५ जनाको स्वाब पिसिआर विधिबाट परीक्षण भएको छ । ती सबैको रिपोर्ट नेगेटिभ आएको पनि डा.ऐरले जानकारी दिए । यस्तै, प्रतिष्ठानको कोरोना हेल्प हेस्कमा २८२ जनाको स्क्रिनिङ भएकोमा ३८ जना सरकारले बनाएको क्वारेन्टाइनमा पठाइएको छ भने २२९ जना होम क्वारेन्टाइनमा पठाइएको छ ।