काठमाडौं: ‍र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) गर्दा मंगलबार विभिन्न जिल्लामा पाँच जनामा कोरोना संक्रमित देखिएका छन् ।

सप्तरी, काभ्रेपलाञ्चोक, गोराखा र धादिङमा पाँच व्यक्तिमा र्यापिड टेष्ट गर्दा संक्रमण देखिएको हो । सप्तरीको २ जनामा र्यापिड टेष्ट गर्दा पोजेटिभ देखिएको छ । उनीह? दिल्लीको निजामुद्दिनस्थित तबलिकी जमातमा सहभागी भएर फर्केका हुन् । यस्तै, काभ्रेको बेथानचोक ५ का एक युवामा पनि र्यापिड टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको थियो । उनी चैत ९ गते भारतबाट आएका थिए । यसैगरि धादिङ र गोरखाका एक एक जनामा पनि र्यापिड टेष्ट गर्दा कोरोना संक्रमण पोजेटिभ देखाएको छ । र्यापिड टेष्टमा पोजेटिभ देखिए पछि उनीहरुको थप पिसिआर विधिबाट परीक्षण हुदैछ ।

के हो ‍र्यापिड टेस्ट र पीसीआर विधिको परीक्षण ?

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डाक्टर रुना झाका अनुसार कोभिड १९ भए नभएको परीक्षण गर्ने वल्र्ड स्ट्यान्डर विधि भनेको पीसीआर परीक्षण हो । यो परीक्षण भनेको रियल टाइम तथा पोलिमरेस चेन रिएक्सन हो ।

यस विधिमा जुन नमुना संकलन गरिन्छ, त्यसमा जीनको टुक्राहरु छन् कि छैनन् भनेर परीक्षण गरिन्छ । त्यो नमूनामा जिनका टुक्राहरु छन् भने त्यो ठाउँमा भाइरस छन् भन्ने प्रमाणित हुन्छ । त्यसैले त्यो परीक्षणबाट नमुना लिएको समयमा सम्बन्धित व्यक्तिको शरीरमा भाइरस छ कि छैन भनेर पत्ता लाग्छ । यदि भाइरस छ भने संक्रमण भएको पुष्टि हुन्छ । यसरी एकजना इन्फेक्सन भइसकेको व्यक्तिको शरीरमा त्यो भाइरस कति दिनसम्म रहने भन्ने कुरा व्यक्ति अनुसार फरक हुनसक्छ । व्यक्तिको रोगसँग लड्ने क्षमता अनुसार कुनै व्यक्तिमा भाइरस छिटै क्लियर हुनसक्छ भने कुनै कुनै व्यक्तिमा ३ देखि ४ हप्तासम्म शरीरमा भाइरस रहन सक्ने हुन्छ ।

तर, यो पीसीआर परीक्षण भनेको अत्यन्तै जटिल परीक्षण र समय लाग्ने हुन्छ । यसको प्रयोगशाला पनि विशेष किसिमको हुनुपर्छ । र परीक्षण गर्ने प्राविधिकले पनि तालिम पाएको वा विज्ञता हासिल गरेको व्यक्ति हुनुपर्छ । त्यसैले गर्दा यो (कोभिड १९) रोग आएदेखि नै विभिन्न वैज्ञानिकहरुले अर्को विधिबाट पनि परीक्षण गर्न सकिन्छ कि भनेर लगातार रिसर्च गरिरहेका छन् । त्यही रिसर्चको बेसिसमा हाल आएर शरीरले भाइरससँग लड्नको लागि बनाउने एन्टिबडी हुन्छ, त्यो एन्टिबडीहरु पनि परीक्षण गरेर यो रोग पत्ता लगाउन सकिन्छ कि भनेर नयाँ नयाँ विधिहरुको विकास भइरहेका छन् । कोभिड १९ संक्रमित व्यक्तिको शरीरले दुई किसिमको एन्टिबडीहरु बनाउँछ । शुरुमा बन्ने भनेको आइजीएम (इम्युनोग्लोबिन एम) र त्यसपछि आइजीजी (इम्युनोग्लोबिन जी) हो । आइजीएम रोग लागिसकेपछि तीन देखि ५ दिनमा वा समान्यतया एक सातामा देखिन थाल्छ । यो व्यक्ति अनुसार फरक हुन्छ । आइजीएम झण्डै दुई तीन हप्ता शरीरमा रहनसक्छ ।

रोग लागेको दुई हप्तापछि आइजीजी भन्ने एन्टिबडी बन्न थाल्छ । यो आइजीजी एन्टिबडी शरीरमा महिनौसम्म रहन सक्छ । शुरुमा रोग हुँदादेखि भाइरस मात्र भेटिने भयो । त्यसपछि ५ देखि ७ दिन वितिसकेपछि आइजीएम एन्टिबडी एन्टिबडी भेटिन सक्छ । त्यसपछि एक महिना पछि भाइरस नेगेटिभ हुनसक्छ । तर आइजीजी लामो समय सम्म रहन सक्छ । यसको मतलब परीक्षण गर्दा शुरुको दिनमा पीसीआर मात्र पोजेटिभ आउन सक्छ । एन्टिबडीको लागि गरिने परीक्षणहरु नेगेटिभ हुन्छ । यस्तै हप्ता १० दिन पछि पीसीआरबाट पनि पोजेटिभ आउने र एन्टिबडीहरु पनि पोजेटिभ आउने हुनसक्छ ।

त्यस्तै ३ हप्ता, ४ हप्ता वितिसकेपछि पीसीआर नेगेटिभ आउने तर एन्टिबडीको परीक्षण चाहिँ पोजेटिभ देखाउन सक्छ । त्यसैले अहिले जतिपनि प्रश्न छन्, पीसीआरबाट पोजेटिभ आयो तर ‍र्यापिड किट वा एन्टिबडीमा देखिएन वा एन्टिबडीमा पोजेटिभ देखियो तर पीसीआरबाट देखिएन भन्ने, यी सबै माथि उल्लेख गरिएजस्तै कारणले हुनसक्छ । यो एन्टिबडी परिक्षण गर्ने विभिन्न विधिहरु विकास भइरहेका छन् । यो आफैमा नयाँ विधि चाँहि होइन । डेगुं, हेपाटाइटिस, एचआइभी यो सबैको डाइग्नोसिस एन्टिबडी परीक्षणबाटै भइरहेको छ ।

एन्टिबडी परीक्षणको विभिन्न विधिहरु छन् । एउटा भनेको एलाईजा हो । अर्को र्यापिड टेस्ट हो । एलाईजा धेरै जस्तो प्रयोशालामा प्रयोग गरिने विधि हो । एलाईजा गर्दा ल्याब भित्रै बसेर परीक्षण गर्नुपर्छ । यसको लागि मेसिन चाहिन्छ । दक्ष जनशक्ति चाहिन्छ । एउटा दुईवटा परीक्षण गर्न गाह्रो हुन्छ । ४ देखि ६ घण्टा लगाएर गर्नुपर्ने भएकाले ब्याचमा गर्नुपर्ने हुन्छ । केही कम्पनीहरुले कोभिडको एन्टिबडी परीक्षणको लागि एलाईजा प्रविधि पनि प्रयोग गरेका छन् ।

एन्टिबडीको परीक्षणको अर्को सजिलो विधि भनेको किटमार्फत गरिने ‍र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) हो । जुन नेपालमा पनि अहिले भित्र्याइएको छ । अमेरीका, युके, अस्ट्रेलिया र भारतले पनि आरडीटीबाट परीक्षण शुरु गरीसकेको छ । यो र्यापिड किटको एउटा फाइदा के छ भने धेरै विज्ञता यसको लागि नचाहिने, प्रयोगशाला पनि नचाहिने हुन्छ । फिल्डमा गएर पनि यसको परीक्षण गर्न सकिने ।

प्राविधिकलाई थोरै तालिम दिए हुने र यसको नतिजा पनि १५ मिनेटमै आउने गर्छ । आफैंमा कुनै पनि प्रयोगशाला परीक्षण कुनै पनि परीक्षण रोगका लागि गम्भीर हुँदैन । त्यो बिरामीको त्यतिबेलाको अवस्था र अरु धेरै कुरासँग मिलाएर नतिजा एनालाइसिस गर्नुपर्ने हुन्छ । विभिन्न देशहरुले पीसीआर परीक्षण गर्ने आफ्नो मापदण्ड तोकेका छन् ।

नेपालको पनि आफ्नो मापदण्ड छ । १०० प्रतिशत जनसंख्यालाई कुनै पनि देशले पीसीआर विधिबाट परीक्षण गर्नुपर्छ भनेको छैन । त्यस्तै एउटा निश्चित मापदण्ड बनाएर पीसीआर गर्नुपर्नेलाई पीसीआर नै गर्ने र जो व्यक्तिहरु पीसीआरको परीक्षणको दायरामा आउनु हुन्न उहाँहरुको लागि कुनै अल्टरनेट परीक्षणको व्यवस्था गर्न सके धेरै भन्दा धेरै परीक्षण हुनसक्छ । यसले पीसीआरबाट टेस्ट गर्दा छुट्नेहरु पनि आउँछन् ।

यसले रोगलाई कन्ट्रोल गर्न सजिलो हुन्छ । एन्टिबडी परीक्षणको अर्को फाइदा के छ भने रोग निको भइसकेपछि पीसीआर परीषण नेगेटिभ आउँछ जसलाई पहिला रोग लागिसकेको छ । जसको पीसीआर भएको थिएन त्यस्तालाई पछि परीक्षण गर्दा शरीरमा एन्टिबडी मात्र बाँकी रहन्छ । त्यो एन्टिबडी परीक्षण गरेर समूदायमा कति व्यक्ति संक्रमित भएका थिए बुझ्न पनि सजिलो हुन्छ । पीसीआर भन्दा माथिका पनि केही परीक्षणहरु छन् ।

हामीले पीसीआरका लागि साधारणतया भाइरसको लागि २ देखि ३ वटा जिन हेर्ने कोसिस गछौं भने यो भन्दा माथि जिन सिकोइन्सी, जसले पुरा जिनको परीक्षण गर्छ । अर्को भनेको भाइरस कल्चर हो । यो भनेको लिइएको नमूनाबाट प्रयोशालामा भाइरस निकाल्ने प्रविधि हो । तर यो रेकुमेन्डेट छैन ।यसरी प्रयोगशाला परीक्षण सँगसँगै ट्राभल हिस्ट्री, अर्थात ज्वरो छ कि छैन, खोकी छ कि छैन, सिटीस्क्यानको नतिजा, पीसीआरको नतिजा सबै मिलाएर रोगको पहिचान गर्न सकिन्छ ।

अर्को कुरा पीसीआरको नतिजा कति समयमा आउँछ भनेर प्रश्न आउछ । यो लामो र जटिल प्रक्रिया हो । हामीसँग अहिले भएको इक्युपमेन्ट २४,४८, ९६ क्षमताको छ । एउटा गर्दा पनि त्यहि प्रक्रिया पार गनुपर्ने हुन्छ र धेरै गर्दा पनि उही प्रक्रिया हुने भएकाले हामीले सकभर धेरै भन्दा धेरै परीक्षण एकैचोटी गर्ने कोसिस गछौं । अर्को भनेको अर्जेन्ट नमूना त्यहि अनुसार एउटा नमूनाको ६ घण्टामा पनि नतिजा दिन सक्छौं । तर हामीले समान्यतया २४ देखि ७२ घण्टाको समय माग्छौं । (मंगलबार स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा डा.झाले आरडिटि र पिसिआरबारे दिएको जानकारीमा आधारित)