धरान: प्रदेश एकको मन्त्रिपरिषद बैठकले कोरोना जनसुरक्षा कोषमा रकम थप गर्ने, पाँचौं प्रदेशसभाको अधिवेशन अन्त्य गर्नेलगायत निर्णय गरेको छ ।

आज बेलुकी ५ बजे मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको बैठकले कोरोना जनसुरक्षा कोषमा १५ करोड बजेट थप गर्ने निर्णय गरेको छ । यसअघि, कोषमा १० करोड बजेट छुट्याइएको थियो । उक्त बजेट कोरोना रोकथाम, नियन्त्रण तथा उपचारलगायतमा सकिएकोले थप १५ करोड थप्ने निर्णय बैठकले गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले जानकारी दिए । उनका अनुसार यसअघि विनियोजना गरिएको बजेट खर्च भइसकेको छ ।

मन्त्रिपरिषद बैठकको निर्णयहरु सार्वजनिक गर्दै मन्त्री कार्कीले आज मध्यरातीदेखि प्रदेशसभाको पाँचौं अधिवेशन समापन गर्नको लागि प्रदेश प्रमुखसमक्ष सिफारिश गर्ने निर्णय पनि बैठकले गरेको छ । ‘पाँचौं प्रदेशसभा चलिरहेको थियो । चैत पहिलो हप्तादेखि स्थगित गरेका थियौं । बर्खे अधिवेशन आउन लागेको र कोरोनाको प्रकोप अन्त्य नभएकोले बैठक सञ्चालन गर्ने स्थिति नभएकोले आज राती १२ बजेदेखि बैठक समापन गर्नको लागि प्रदेश प्रमुखसमक्ष सिफारिश गर्ने निर्णय गरियो,’मन्त्री कार्कीले भने । आज दिउँसो प्रदेशसभा सचिवालयमा कार्य व्यवस्था परामर्श समितिको बैठक सभामुख प्रदीपकुमार भण्डारीको अध्यक्षता र मुख्यमन्त्रीको विशेष उपस्थितिमा बसेको थियो। उक्त बैठकले प्रदेशसभाको अधिवेशन अन्त्य गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको थियो ।

pradesh-sava-karya

प्रदेशसभा सचिवालयमा कार्य व्यवस्था परामर्श समितिको बैठक ।

यस्तै, बैठकले प्रदेशको आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व विधेयक तर्जुमा गर्न बनेको अवधारणा पत्रलाई सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय गरेको छ भने कोरोना प्रभावित तथा पहिचान तथा राहत वितरण सम्बन्धी निर्देशक २०७६ भनेर जारी गर्ने निर्णय पनि बैठकले गरेको छ । यस्तै, मेची पहाडी पर्यटन क्षेत्र प्रर्वद्धन समितिको कार्यालय सञ्चालनको लागि आर्थिकलागयतका निर्णय बैठकले गरेको पनि मन्त्री कार्कीले जानकारी दिए । यस्तै, क्यान्सरका विरामीद्धय सोलुखुम्बु जिल्लाको खम्बुपासाङ गाउँपालिका अध्यक्ष निमदोर्जी शेर्पालाई ५ लाख र विराटनगरका पत्रकार कमल पौडेललाई ३ लाख सहयोग गर्ने निर्णय गरेको पनि मन्त्री कार्कीले जानकारी दिए ।