धरान: र्यापिड डायग्नोष्टिक टेष्ट(आरडिटि)विधिबाट परीक्षण गर्दा झापामा एक व्यक्तिमा कोरोना पोजेटिभ देखिएको छ ।
करिब एक महिनाअघि दुबईबाट आएका झापाको हल्दिबारी गाउँपालिकाका युवामा आरडिटि विधिबाट परीक्षण गर्दा कोरोना एन्टिबडी देखिएको हो । हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिंदेनको भनाई उदृत गर्दै उजागर अनलाइनले उक्त युवाको स्वाब परीक्षण गर्न कोशी अस्पताल विराटनगर पठाइएको जनाएको छ । समाचार अनुसार ती युवा सेल्फ क्वारेन्टाइनमा बस्दै आएका थिए ।
क्वारेन्टाइन र होम क्वारेन्टाइनमा बसेका ६० जनाको टेष्ट गरिएको थियो । ती मध्ये ती युवाको मात्र कोरोना पोजेटिभ देखिएको हो । आरडिटि विधिबाट पोजेटिभ देखिए पनि पिसिआर विधिबाट स्वाब परीक्षणको रिपोर्ट आउन भने बाँकी छ । त्यसैले ती युवा कोभिड १९ संक्रमित हुन् भनेर अहिल्यै भन्न सक्ने अवस्था छैन । उनको स्वाब परीक्षणको रिपोर्ट बिहिबार बेलुकीसम्म आउने बताइएको छ । मंगलबार सप्तरीका दुई युवाको पनि र्यापिड टेष्टमा कोरोना पोजेटिभ देखिएको थियो । तर,वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुवैको स्वाब नमुना पिसिआर बिधिबाट परीक्षण गर्दा आज रिपोर्ट नेगेटिभ आएको थियो ।
क्लिक धरानसँग कुरा गर्दै गाउँपालिका अध्यक्ष लिंदेनले आरडिटी परीक्षणको रिपोर्टबारे बोल्न चाहेनन् । तर उनले ती व्यक्तिसहित केहीको थ्रोट स्वाब थप परीक्षणको लागि कोशी अस्पतालमा पठाइएको स्वीकार गरे । 'आरडिटीको रिपोर्ट के छ मैले भन्नसक्ने होइन, तर केहीको स्वाब कोशी अस्पताल पठाइएको हो,'उनले भने ।
आरडिटी परीक्षणको रिपोर्ट पोजेटिभ आएको बारे प्रदेश सरकारले औपचारिक जानकारी दिएको छैन । यो बिषयमा प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरे, प्रदेश स्वास्थ्य महाशाखा प्रमुख सुरेश मेहता, झापाका प्रजिअ, झापाको स्वास्थ्य कार्यालय प्रमुखसँग सम्पर्क प्रयास गरेपनि कसैले मोवाइल उठाएनन् ।