धरान: रयापिड डाइनोष्टिक टेष्ट(आरडिटि)मा पोजेटिभ देखिएका झापाका युवासहित २१ जनाको कोशी अस्पताल विराटनगरमा आज स्वाब परीक्षण भइरहेको छ ।
र्यापिड टेष्ट गर्दा हल्दिबारी गाउँपालिकामा एक व्यक्तिको रिपोर्ट पोजेटिभ आएपछि उनको परिवारसहित सम्पर्कमा रहेका २१ जनाको स्वाब परीक्षण गर्न हिजो कोशी अस्पताल ल्याइएको थियो । अबको केही घण्टा पछाडि उनीहरु सबैको पिसिआर परीक्षणको रिपोर्ट आइसक्ने प्रदेश स्वास्थ्य महाशाखा प्रमुख सुरेश मेहताले जानकारी दिए । ‘अहिले पिसिआर रन भइरहेको छ, अबको केही घण्टामा सबैको रिपोर्ट आइहाल्छ,’उनले भने ।
हिजो आरडिटीको रिपोर्ट पोजेटिभ आएपनि सार्वजनिक गरिएको थिएन । स्थानीयस्तर र प्रदेश सरकारले पनि ती व्यक्तिको आरडिटी रिपोर्ट पोजेटिभ देखिएको सुचना गोप्य राखेको थियो । स्वास्थ्य महाशाखा प्रमुख मेहताले आरडिटीमा पोजेटिभ देखिदैमा कोभिड १९ संक्रमण भएको पुष्टि नहुने भएकोले पिसिआर परीक्षणको नतिजाको लागि सार्वजनिक नगरिएको बताउँछन् । ‘ती व्यक्तिको आरडिटि पोजेटिभ आएको हो, तर उनी संक्रमित नै हुन् भन्ने होइन । आज पिसिआर नेगेटिभ आयो भने क्लियर हुन्छ, पोजेटिभ आयो भने मात्र संक्रमित भन्न मिल्छ,’मेहताले भने,‘उनी सस्पेक्टेट मात्र हुन् । पोजेटिभ आयो भनेर प्रचारमा आउदा कति मानसिक तनाव होला, छरछिमेक समाजबाट उसलाई हेर्ने नजर के होला, यो सबै विचार गरिएको हो ।’