धरान: धरान उपमहानगरपालिकाले कोरोना भाइरस(कोभिड १९) रोकथाम, नियन्त्रण, उपचार तथा राहतमा गरेको कामहरुबारे प्रदेश सरकारलाई प्रगति प्रतिवेदन पेश गरेको छ ।

धरानका मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी, प्रमुख प्रशासकीय अधिकृत विदुर खनालले प्रदेश राजधानी विराटनगरमा मुख्यमन्त्री शेरधन राईलाई भेटेर प्रगति प्रतिवेदन बुझाएको हो । प्रतिवेदनमा कोरोना नियन्त्रण गर्न साथै लकडाउनलाई पालना गराउन तथा राहत वितरण, व्यवस्थापनमा उपमहानगरले गरेको पहल, कार्यहरुको यथार्थ विवरण पेश गरिएको छ । साथै, उपमहागनरले दोस्रो चरणको राहत वितरणको लागि ३ करोड बजेट आवश्यक भएको पनि प्रतिवेदनमा उल्लेख छ ।

धरान उपमहानगरले पहिलो चरणमा करिब एक करोड बराबरको राहत वितरण गरिसकेको छ । उपमहानगरका अनुसार पहिलो चरणमा खरीद गरेको खाद्यान्नको मध्ये ३९ लाख ९३ हजार २ सय ३० रुपैया भुक्तानी गरिएको छ भने २९ लाख ९७ हजार ९ सय ५३ रुपैया भुक्तानी गर्न बाँकी छ । दोस्रो चरणमा प्रतिप्याकेज १५ सयको दरले राहत वितरण गर्ने उपमहानगरको योजना छ।

उपमेयर भण्डारीका अनुसार प्रतिवेदनमा उपमहानगरले गरेको कामहरु समेटिएको बताइन् । साथै, प्रदेश सरकारले समानुपातिकरुपमा राहतको बजेट वितरण गर्दा धरानलाई भने पृथकरुपमा बजेट दिइनुपर्ने पनि माग गरिएको बताइन् । ‘लकडाउन पालना गराउन के के गर्यौ, वीपी प्रतिष्ठानसँग कसरी सहकार्य गर्यौं, क्वारेन्टाइनको व्यवस्थापन के कति गर्यौ, राहत संकलन, वितरण, व्यवस्थापनलायतको प्रतिवेदन पेश गरेका छौं,’उनले भनिन्,‘राहत वितरणमा हाम्रो नगर पृथक छ । यहाँ धेरै कलेजहरु भएकोले विद्यार्थीहरु डेरामा, होस्टलमा बसेका छन् । उनीहरुलाई पनि हामीले राहत दिनुपर्यो । सुकुम्बासी १२ हजार बढी बसोबास भएको नगर हो । ज्याला मजदुरी वर्ग धरानमा धेरै छ । त्यसैले धरान र अरु नगरलाई एउटै अनुपातमा नभै न्यायोचित र आवश्यकतामा आधारित भएर दिनुपर्छ । भन्ने कुरा पनि राख्यौं ।’