धरान: धरानको वडा नं १५ मा विदेशबाट पछिल्लो समय आएका व्यक्तिहरुको र्यापिड डायग्नोष्टिक टेष्ट(आरडिटि) परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
आज दिउँसो धरान १५ स्थित अस्थायी प्रहरी चौकी अघि १५ जनाको आरडिटि परीक्षण गरिएको थियो । विदेशबाट आएर सेल्फ क्वारेन्टाइनमा रहेका ती सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य महाशाखाका कविराज रामबाबु यादवले जानकारी दिए । उनका अनुसार केही सुरक्षाकर्मीको पनि परिक्षण गरिएको थियो । उनीहरुको पनि रिपोर्ट नेगेटिभ नै आएको छ ।
धरानमा करिब डेढ सयको हाराहारीमा पछिल्लो समय विदेशबाट आएका व्यक्तिहरुको तथ्यांक छ । सरकार तथा उपमहानगरपालिकाले उनीहरु सबैलाई होम क्वारेन्टाइनमा रहन र कुनै स्वास्थ्य समस्या भए तत्काल सम्पर्क गर्न आग्रह गरेको छ । प्रदेश सरकारले र्यापिड किट दिएपछि धरानमा अहिले विदेशबाट आएका सबैको परीक्षण भइरहेको हो । वडा नं १७, ११, १६, १४, १, १३ र १५ को परीक्षण सकिदासम्म कसैको पनि रिपोर्ट पोजेटिभ आएको छैन ।