धरान: छिमेकी जिल्ला उदयपुरको भुल्केमा एक दर्जन व्यक्तिमा कोरोना संक्रमण(कोभिड १९) पुष्टि भएपछि उच्च जोखिम बढेको भन्दै धरान चतरा उदयपुर सडक खण्ड सिल गरिएको छ ।

धरान उपमहानगरपालिकाका मेयर तिलक राईले यो सडक भएर धेरै मानिसहरु यात्रा गर्ने भएकोले उच्च जोखिम छ । त्यसैले प्रहरीसँग समन्वय गरेर आजै रातीदेखि यो सडक खण्डलाई पुर्णरुपमा सिल गरिएको मेयर राईले बताए । ‘धरानबाट चतरा, कोशी पुल हुदै उदयपुरको बाटो धेरैले प्रयोग गर्छन् । उदयपुरमा संक्रमित पुष्टि भएपछि धरानमा पनि जोखिम बढेकोले यो बाटो पुरै सिल गरिएको छ,’मेयर राईले भने,‘म सम्पुर्ण नगरबासीहरुलाई आग्रह गर्छु, यो उच्च जोखिमको अवस्थामा कोही पनि घरबाहिर नहिडौं, भेटघाट नगरौं । जोखिम बुझेर जथाभावी खाने नगरौं । अब जोहो गर्ने बेला भयो, खानपान पहिला जस्तो नगरौं ।’

इनरुवामा आरडिटि परीक्षणमा पोजेटिभ देखिएका एक व्यक्तिलाई स्वाब परीक्षण गर्नको लागि धरान ल्याउने भएको छ । धरानको वीपी प्रतिष्ठानमा पिसिआर विधिबाट स्वाब परीक्षण हुने गर्छ । त्यसैले विभिन्न ठाउँबाट स्वाबको नमुना साथै विरामी पनि पठाउने अवस्था भएकोले पनि धरान उच्च जोखिममा छ । ‘धरानमा उच्च जोखिम बढ्यो, त्यसैले अतिआवश्यक पर्दा डिएसपी सापलाई सम्पर्क गरेर मात्र घरबाट निस्कौं, नत्र सबैले लकडाउनलाई अनुशासित भएर पालना गरौं भन्ने म हार्दिक अपिल गर्दछुँ,’मेयर राईले भने ।

छिमेकी जिल्लामा कोरोना संक्रमणले जोखिम बढाएपछि धरान उपमहानगरले थप आवश्यक रणनीति तय गर्न भोली शनिबार ११ बजे सुरक्षा बैठक पनि बोलाएको छ । उक्त बैठकले धरानलाई सुरक्षित बनाउन लकडाउन अझै कडा बनाउने बारे निर्णय लिनसक्नेछ ।