धरान: लकडाउनको बेला सडकबाट उद्दार गरेर धरान ८ स्थित लांघाली सामुदायिक वन समुहको आवास गृहमा राखिएका व्यक्तिहरुको मानसिक स्वास्थ्य जाँच गरिएको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका मानसिक रोग विभागका चिकित्सकहरुले उनीहरुको स्वास्थ्य जाँच गरेका हुन् । सडकका रहेका कतिप व्यक्तिहरुको मानसिक अवस्था ठिक नभएको कारण चिकित्सकहरुबाट जाँच गराइएको धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारी सुवेदीले बताइन् । ‘यहाँ ल्याएर राख्दा कतिपय मानसिक विरामी पनि रहेछन्, र वीपीको डाक्टरबाट जाँच गरियो,’उनले भनिन्,‘डाक्टरहरुले भनेअनुसार औषधी उपचार गछौं ।’ आवास गृहमा हाल कुल ८२ जना छन् । ती मध्ये ६ जना बालबालिका र २० जना महिला छन् । 

वीपी प्रतिष्ठानका मानसिक रोग विभागका चिकित्सक डा.मधुर बस्नेतले सडकमा रहेकाहरुको मानसिक समस्या देखिने गरेको बताए । आवास गृहमा रहेकाहरुको प्रारम्भिक उपचार शुरुवात गरिएको बताए । नियमित औषधी सेवन गरे निको हुने बताए । ‘नियमित औषधी सेवन गरे सुधार हुन्छ भन्ने आशा छ,’डा.बस्नेतले भने ।

उनका अनुसार विश्व व्यापीरुपमा फैलिएको कोरोनाले डर, त्रास उत्पन्न गराने र त्यसलाई स्वभाविकरुपमा लिनुपर्ने भएपनि कसै कसैलाई निन्द्रा नआउने, छटपटि हुने गर्छ । साथै, यो तनावको कारणले पुरानो विरामी बल्झनसक्ने सम्भावना रहने पनि उनले बताए । साथै, लकडाउनले गर्दा औषधी छुट्ने र मानसिक विरामी बल्झने सम्भवना हुने भएको पनि उनले बताए । ‘अस्पताल आउन नसकेपनि नियमित खाइरहेको औषधी नछोड्नुस्, कसरी हुन्छ व्यवस्थापन गर्नुस् ।’