धरान:कोरोना भाइरस(कोभिड १९)सँग अग्रपंक्तिमा लड्ने स्वास्थ्यकर्मीहरुलाई पर्सनल प्रोटेक्टिभ इक्युप्मेन्ट(पिपिई) अतिजरुरी हुन्छ । तर, कोरोना महामारीकोरुपमा विश्वभर फैलिएसँगै पिपिईको अभाव छ ।

धरानमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान छ । यहाँ कोरोनाको पिसिआर परीक्षण हुन्छ भने आइसोलेसनमा राखेर विरामीको पनि उपचार हुन्छ । तर, यही पनि सबै स्वास्थ्यकर्मीहरुलाई पिपिई पर्याप्त छैन । त्यसैले वीपीका चिकित्सकहरु तथा जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटी(जे.आर.डब्ल्यु.एस.)ले उपाय निकाल्यो, स्थानीयस्तरमा नै पिपिई बनाउने । उनीहरुले पिपिईको नमुना तयार गरे, र केही मात्रामा भएपनि संक्रमणबाट जोगिने पिपिई तयार भयो । वीपीका चिकित्सकहरुले नै तयार गरेको पिपिईको नमुना अनुसार धरानको फुस्रेस्थित सैनिक आवासिय महाविद्यालयको क्वारेन्टाइनको लागि पिपिई त्यहीका सेनाका एक अधिकृतले बनाए ।

ppe1

वीपीका चिकित्सकहरुलाई पिपिई तयार गर्न धरानको डिप्लोमा ह्याण्डिक्राफट तालिम केन्द्रले पुर्णरुपमा सहयोग गर्यो । यो तालिम केन्द्रकी सञ्चालिका पुर्णकला मास्केका अनुसार सिलाउन केही गाह्रो भएपनि ४ जना मिलेर डाक्टरहरुले भनेअनुसार नै पिपिई सेट तयार गरिएको छ । मास्केका अनुसार उनलाई यो काममा धरान १६ का विन्दु बास्तोला, धरान १५ मेनुका श्रेष्ठ र गंगा थापाले सहयोग गरेका छन् । उनीहरुले नै तयार गरेको पिपिई अहिले धरान उपमहानगरपालिकाका स्वास्थ्यकर्मीहरुले पनि प्रयोग गरिरहेका छन् ।पिपिई तयार गर्न प्रदेश सांसद सावित्री जोशी र महिला सञ्जाल धरानकी अध्यक्ष सविता राईले चिकित्सक र डिप्लोमा ह्याण्डीक्राफ्टबीच समन्वय गरिदिएका थिए । 

जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीका अध्यक्ष डा.कविराज पौडेलका अनुसार स्थानीयस्तरमा डिजाइन गरेको पिपिई फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मीहरुको लागि भने होइन । तर, हेल्थ केयर स्फाट, आइसोलेसन सरसफाई गर्ने कर्मचारीहरुलगायतको लागि भने उपयोगी हुने उनले बताए । ‘फ्रन्टलाइनमा रहेर काम गर्नेलाई होइन, तर केही नहुनु भन्दा केही न केही हुदा राम्रो हुन्छ,’उनले भने,‘हेल्ड केयर स्टाफ, आइसोलेसन क्लिन गर्न आउने, कोरोनाको विरामी उपचार गर्ने भन्दा पनि संक्रमण हुनसक्ने सम्भावित ठाउँ, पेडियाट्रिक इर्मजेन्सी, मेन इर्मजेन्सीको लागि उपयोगी हुन्छ ।’ सरकारले दिएको वा हस्पिटलले किनेको पिपिई प्रयोग गर्न सम्भव नभएको ठाउँको लागि यो पिपिई अत्यन्तै उपयोगी हुने उनले बताए ।

ppe