सुनसरी: अबैधरुपमा ह्याण्ड सेनिटाईजर उत्पादन तथा भण्डारण गरी कालो बजारी गर्ने २ जनालाई इटहरीबाट पक्राउ गरिएको छ ।

ईटहरीको मनकामना टोलमा संचालनमा रहेको सौर्य केमिकलका संचालक ३० बर्षीय अतित गुरागाँई र जे.बी.इन्टरप्राइजेजका अमरजित गोस्वामीलाई प्रहरीले पक्राउ गरेको हो । गुरागाईले सम्बन्धीत कुनै पनि निकायबाट अनुमती नलिई सौर्य नामक ह्याण्ड सेनिटाईजर उत्पादन गरेर भण्डारण गरिरहेको प्रहरीले जनाएको छ । यस्तै, उनले उत्पादन गरेको सेनिटाइजर ईटहरी ६ का ४५ बर्षीय गोस्वामीको कस्मेटीक पसल जे.बी.ईन्टप्राईजेजमा भण्डारण गरी राखेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।

मापदण्ड बिपरीत उत्पादन गरिएको ठुलो मात्राको सेनिटाईजरसहित दुवै जनालाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । उक्त स्थानबाट प्रहरीले आफु खुसी गुणस्तर घटाएर उत्पादन गरी विभिन्न प्लाष्टिकका बोतलहरुमा लेवल टाँसी बजार मुल्य भन्दा वढी मुल्यमा बेचबिखन गर्न तयार गरेको वरामद भएको पनि प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ७० तथा ३० एम.एल.का १७७० वटा प्लाष्टिकका बोतलहरु बरामद भएको छ ।

यसैगरी वाग्मती लेखिएको हरियो वाल्टिनमा रहेको सेतो तरल पदार्थ १६२ लिटर र १५०० खाली वट्टा तथा ९५ बण्डल स्टिकर समेत वरामद गरीएको छ । पक्राउ परेका सेनिटाईजर उत्पादक र बिक्री वितरण गर्ने दुवै जनालाई पक्राउ गरी कालो वजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ वमोजिम म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भईरहेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।