धरान: लकडाउनले काठमाण्डौंमा अलपत्र परेका ३४ जना व्यक्तिहरु धरान आइपुगेका छन् ।
लकडाउनले काठमाण्डौंमा रोकिएका नागरिकहरुलाई ल्याउन उपमहानगरपालिकाले गठन गरेको समितिको पहलमा उनीहरु आज बिहान आइपुगेका हुन् । उनीहरुसँग ४ जना बच्चा पनि थिए । समितिका संयोजक मनोज भट्टराईका अनुसार उनीहरुलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य जाँच पछि घर पठाइएको छ । उनीहरुसँग ४ जना बच्चा पनि भएको अध्यक्ष भट्टराईले जानकारी दिए । पहिलो लटमा आएकाहरु धरानको विभिन्न वडासँगै प्रकाशपुरका पनि ८ जना छन् । ‘सबै सकुशल धरान आइपुगे । उहाँहरुलाई वीपीमा स्वास्थ्य जाँच गराएपछि कुनै समस्या नभएकोले घर पठाइयो,’संयोजक एवं वडा नं १७ का अध्यक्ष मनोज भट्टराईले भने ।
रात्री बसमार्फत विहान आइपुगेकाहरु धरानको वडा नं ४, ५, १३, १७, २०, प्रकाशपुरलगायत स्थानका छन् । लकडाउनको कारण काठमाण्डौंमा रोकिएकाहरुलाई ल्याउन उपमहानगरपालिकाले वडा १७ का अध्यक्ष भट्टराईको संयोजकत्वमा समिति गठन गरेको छ । समितिले धरान सरोकार समाज काठमाण्डौंसँग समन्वय गरेर ल्याउन पहल गरेको हो भने नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भिम राई ज्वालालाई सम्पर्क व्यक्तिकोरुपमा जिम्मेवारी दिएको अध्यक्ष भट्टराईले जानकारी दिए ।
काठमाण्डौंबाट ल्याइएकाहरुलाई ट्राभल हिष्ट्री हेरेर साथै प्रतिष्ठानको फिवर क्लिनिकमा जाँच गरेर मात्र घर पठाइन्छ । ‘विदेशबाट आएका कोही छन् भने क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ । होइन भने फिवर क्लिनिकमा जाँच गरेर सबै ठिक भए घर पठाइन्छ,’अध्यक्ष भट्टराईले भने । लकडाउनले काठमाण्डौंमा रहेकाहरुलाई अबको दुई दिनभित्र धरान ल्याइसक्ने उनले बताए ।