धरान: कोरोना महामारीको सामना गर्न पुर्वतयारी स्वरुप धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरलाई पनि क्वारेन्टाइन बनाइने भएको छ ।

आज धरान उपमहानगरपालिकामा संघीय तथा प्रदेश सांसदहरु, सुनसरीका प्रजिअ, धरानस्थित सुरक्षा निकायका प्रमुखहरुसँगको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले एन्फालाई तयारी अवस्थामा राख्ने निर्णय भएको जानकारी उपमहानगरपालिकाका सुचना अधिकारी खगेन्द्र खतिवडाले जानकारी दिए । स्वाब दिन आएका व्यक्ति एक रात धरानमा राख्नुपर्ने अवस्था आएमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग समन्वय गर्ने निर्णय भएको पनि उनले जानकारी दिए । ‘एक रात होल्ड गर्नुपर्ने अवस्था भयो भने कहाँ राख्ने भनेर वीपीसँग समन्वय गर्ने भन्ने निर्णय भएको छ,’खतिवडाले भने,‘एन्फा टेक्निकल सेन्टरलाई क्वारेन्टाइन बनाउन आवश्यक पुर्वाधार तयार गर्ने निर्णय भएको छ ।’

बैठकले लकडाउनले राजधानीमा अड्किएका धरानेहरुलाई ल्याउनको लागि आवश्यक समन्वय गर्न वडा नं १७ का अध्यक्ष सुर्यप्रसाद भट्टराई(मनोज)को संयोजकत्वमा ३ सदस्यीय समिति पनि गठन भएको छ । समितिमा मेयर तिलक राईका स्वकिय सचिव राजुमान श्रेष्ठ छन् भने उपमहानगरबाट किरण भुजेल छन् । धरान सरोकार समिति काठमाण्डौंसँग आवश्यक समन्वय गरेर मानिसहरुलाई धरान ल्याइने संयोजक एवं वडाअध्यक्ष भट्टराईले जानकारी दिए । ‘विभिन्न कारणले काठमाण्डौंमा रहेका धरानबासीहरु घर आउन चाहेको खण्डमा धरान सरोकार समाज र उपमहानगरको समन्वयमा ल्याउन समिति गठन भएको हो,’अध्यक्ष भट्टराईले भने ।

meeting

उनका अनुसार निजी सवारी हुनेलाई सुनसरी र काठमाण्डौंका सिडिओबीच समन्वय गराएर घर आउने वातावरण तयार गरिनेछ भने निजी सवारी नहुनेलाई भाडाको गाडी व्यवस्थापन गरेर ल्याइनेछ । त्यसरी आउदा भाडा सम्बन्धित व्यक्तिले तिर्नुपर्ने र तिर्न नसके उपमहानगरपालिकाले व्यवस्थापन गर्ने पनि निर्णय भएको छ । ‘काठमाण्डौंबाट आएपछि अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ,’अध्यक्ष भट्टराईले भने ।

बैठकमा धरानका मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी सुवेदी, संघीय सांसद जयकुमार राई, मिन विश्वकर्मा, प्रदेश सांसदहरु भिम आचार्य, उमिता वराईली, सावित्री श्रेष्ठ, चन्द्रप्रसाद श्रेष्ठ, प्रजिअ राजेश पौडेल, इलाका प्रहरी कार्यालयका डिएसपी ढुण्डीराज न्यौपाने, सशस्त्रका डिएसपी राजेन्द्र श्रेष्ठ, नेपाली सेनाका अधिकृतहरुलगायत सहभागी थिए ।