विराटनगर: प्रदेश १ मा माध्यमिक शिक्षा परीक्षा (एसईई) तयारी कक्षा शुरु हुने भएको छ ।
एसईईको तयारी गरिरहेका विद्यार्थीलाई लक्षित गरि सामाजिक विकास मन्त्रालयले तयारी कक्षा सञ्चालनबारे नेपाल टेलिभिजन इटहरी प्रशारण केन्द्रसँग सम्झौता गरेको छ । दैनिक १ सय मिनेटको भर्चुअल कक्षा सञ्चालनबारे सामाजिक विकास मन्त्रालयका सचिव रविलाल पन्थ र इटहरी प्रशारण केन्द्रका प्रमुख डा. टंक उपे्रतीवीच विहिबार सम्झौता भएको छ । पहिलो चरणमा वैशाख १५ देखि जेठ १५ गते सम्मका लागि सम्झौता भएको छ ।
एसईई तयारी कक्षा वैशाख १५ गते देखि शुरु हुने सामाजिक विकास मन्त्रालय शैक्षिक योजना शाखाका अधिकृत मानवहादुर देवकोटाले जानकारी दिए । शिक्षा तथा मानव श्रोत विकास केन्द्र सानोठिमी भक्तपुरले तयार गरेको सामाग्री प्रसारण गरिने देवकोटाले बताए । एसईई तयारी कक्षा शुरु हुनुअघि दैनिक १० मिनेट विज्ञबाट विद्यार्थीलाई विभिन्न व्यवहारीक ज्ञानबारे जानकारी दिइने उनले बताए । उनले भने,‘विद्यार्थीले विज्ञलाई विभिन्न विषयबारे राखेको जिज्ञाशा पनि कार्यक्रममा प्रशारण गरिने छ ।’ हरेक दिन विहान १० वजेदेखि कक्षा शुरु हुने सामाजिक विकास मन्त्रालय शैक्षिक योजना शाखाका अधिकृत देवकोटाले बताए । उनका अनुसार पहिलो सम्झौता अनुसार ९० वटा कक्षा सञ्चालन गरिने छ ।