धरान: धरान उपमहानगरपालिकाका मेयर तिलक राईले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको नेतृत्व एवं व्यवस्थापन पक्षले कोरोना संक्रमित व्यक्तिहरुको उपचारमा खेलाची गर्दा स्वास्थ्यकर्मी र नगरबासी उच्च जोखिममा परेको भन्दै असन्तुष्टी जनाएका छ्न ।
मेयर राईले शुक्रबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै संक्रमित व्यक्तिहरु पुनःपुष्टि गर्ने क्रममा जनप्रतिनिधि, डाक्टर, नर्सहरुलाई समेत जानकारी नदिई प्रतिष्ठानमा ल्याएकोप्रति चर्को असन्तुष्टी जनाए । कसैलाई जानकारी नै नदिई ल्याउदा संक्रमणको जोखिम बढाएको भन्दै उनले यस्तो कुरामा खेचाली नगर्न पनि प्रतिष्ठान नेतृत्वको ध्यानाकर्षण गराएका छन् । ‘कोरोना रोकथाम, उपचारमा वीपीसँग उपमहानगरको शुरुदेखि नै सहकार्य भइरहेको छ । वीपीकै आग्रहमा एक दिन अघि चैत १० गते नै धरान उपमहानगरपालिकाले लकडाउन गरेको हो धरानमा,’मेयर राईले भने,‘अहिले संक्रमित व्यक्तिहरु पुर्नपुष्टि गर्ने क्रममा हामीलाई पनि जानकारी नदिईकन, स्टाफ, नर्स डाक्टरहरुलाई जानकारी नदिई ल्याउने गरिएको छ, त्यसले जोखिम बढाउछ । यस्तो कुरामा खेलाची गर्नुहुन्न । जे कुरा हो, सबैलाई प्रष्टसँग भनेर उपचार गराउनुपर्छ ।’
मेयर राईले धरान उपमहानगरपालिकाले चिकित्सकहरुको मनोवल उच्च बनाउन तयार रहेको पनि बताए । यसअघि केही संक्रमित व्यक्तिहरु वीपीमा ल्याएको र यहाँका नर्स, डाक्टरहरु जोखिममा परेको उनको भनाई छ । ‘व्यवस्थापनले खेलाची गर्नुहुन्न । यसमा म नगर प्रमुखको हैसियतले भिसि, व्यवस्थापक र प्रदेश सरकारलाई विनम्रतापुर्वक आग्रह गर्न चाहन्छु,’उनले भने,‘त्यहाँ ल्याएका संक्रमितहरु उभिएका छन्, थुकेका छन्, पिसाब गरेका छन् । यो लेभल थ्री हस्पिटाल हो, अतिसिकिस्त विरामीलाई उपचार गर्ने हो । तर, शुरुकै स्टेजमा ल्याएको छ ।’
वीपीका भिसिले आफ्नो फोन ३, ४ दिनदेखि नउठाइरहेको र कल ब्याक पनि नगरेको भन्दै मेयर राईले चर्को असन्तुष्टी जनाए । आफु वीपीको सिनेट सदस्य र निवार्चित जनप्रतिनिधि पनि भएको तर भिसिमा जवाफदेहिता नपाइरहेको मेयर राईले बताए । ‘कर्तव्यबोध पाइरहेको छैन । उनले आफु कुर्सिमा मात्र बस्ने होइन, स्थानीय जनप्रतिनिधिहरुसँग, विभागीय प्रमुख, डाक्टरहरुसँग समन्वय गर्ने काम हो । फोन पनि नउठाउने, कल ब्याक गर्ने पनि गर्दैन,’मेयर राईले भने,‘जो खटिएका छन्, जोखिममा छन् । उहाँका आफन्तले, उहाँहरुले भनिरहेको छ । उहाँहरु पनि नगरबासी नै हो । म उहाँहरुको प्रतिनिधि हो । व्यवस्थानबाट आउनुपर्ने आएन । उपचारमा कमीकमजोरी भइरहेको छ, म खबरदारी गर्न चाहन्छु । उपचारमा सजगता अपनाइयोस ।’