धरान: कोरोना संक्रमितको सम्भावित जोखिमको पुर्वतयारी स्वरुप वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले आफ्नो ४ वटा विभाग खाली गरेको छ ।

आइसोलेसन बेड थप गर्नको लागि प्रतिष्ठानले आफ्ना ४ विभाग खाली गराएको हो । प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साहका अनुसार अर्थोपेडिक, ईएनटि, डर्मालोजी र आई(आँखा) विभागको वार्ड पुर्णरुपमा खाली गरेको हो । ती विभागलाई अब कोरोना संक्रमितको उपचारको लागि आइसोलेसनमा परितण गरिने डा.साहले बताए । ‘कार्यवाहक उपकुलपतिकै निर्देशन अनुसार यी विभागको वार्ड खाली गरिएको हो । नियमित ओपिडी नचलेको हुनाले प्रायः वार्ड खाली नै थियो,’निर्देशक डा.साहले भने,‘भएका एक दुई जना विरामीलाई मेडिसिन र सर्जरी वार्डमा सारेका छौं ।’

हिजो मात्र प्रदेशको सामाजिक विकास मन्त्रालयले वीपी प्रतिष्ठानलाई २ सय बेडको थप आइसोलेसन तयारी गर्न परिपत्र जारी गरेको थियो । प्रतिष्ठानका कार्यवाहक उपकुलपति प्रा.डा.गुरु खनालले भने यो तयारी प्रदेश मन्त्रालयबाट परिपत्र आउनुअघिकै हो । प्रतिष्ठान आफैले यो समयमा सजगता अपाउनुपर्ने भएकोले आइसोलेसन वेड थप गर्ने तयारी गरिरहेको उनले बताए । ‘चार वटा विभाग खाली गरिएको हो, कति बेड बन्छ पछि थाह हुन्छ,’कार्यवाहक उपकुलपति प्रा.डा.खनालले भने,‘अहिले जोखिमलाई हरेकले आआफ्नो ठाउँबाट व्यवस्थापन गर्ने हो, हामीसँग जे जस्तो स्रोतसाधन छ, त्यसलाई अधिकतमरुपमा परिचालन र उपयोग गछौं ।’

प्रतिष्ठानमा अहिले २० बेडको आइसोलेसन रहेको छ । अहिले इर्मजेन्सीबाहेकका सम्पुर्ण सेवा ठप्प छ भने कोरोना भाइरस आशंकाका विरामीहरुको लागि जिओपिडी भवन अघि हेल्प डेस्क सञ्चालनमा छ भने ज्वरोको लागि स्पेशल जिओपिडी अगाडि फिवर क्लिनिक सञ्चालनमा छ । अहिले अत्यन्तै जरुरी अप्रेशनहरु मात्र भइरहेको छ । प्रतिष्ठान हाताभित्र पनि लकडाउन गरिएको छ ।