धरान: कोरोना भाइरस संक्रमित विरामीको उपचार गर्न वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सय बेड आइसोलेसनसहितको कोभिड–१९ अस्पताल तयार भएको छ ।

प्रतिष्ठानमा द्धन्द्दपीडितहरुको उपचार गर्न स्थापना गरिएको पुर्नस्थापना केन्द्रलाई कोभिड अस्पतालमा परिणत गरिएको हो । पछिल्लो समय यहाँ फिजियोथेपारीको इकाई सञ्चालनमा थियो । प्रतिष्ठानले एक साता समय लगाएर कोभिड अस्पतालको रुप दिएको हो । सय बेड आइसोलेसन भएको अस्पतालमा कम्तीमा १० बेड आइसियु रहनेछ । आजदेखि सञ्चालनमा आउने अस्पतालको निरीक्षण गर्न प्रदेश एकका मुख्यमन्त्री शेरधन राई आज बिहान वीपी प्रतिष्ठान आउने भएका छन् ।

अस्पतालमा वार्ड, अप्रेशन थिएटर, आइसियु, पेडियाट्रिक आइसियु, गाइनो वार्ड,एचडियुलगायत सेवाहरु सञ्चालनमा रहनेछन् । यो अस्पतालमा छुट्टै एक्स रे सेवा, भिडियो एक्स रे पनि त्यही हुनेछ भने भविष्यमा सिटि स्क्यान पनि सोही अस्पतालमा राख्ने तयारी छ । ‘कोभिड अस्पतालमा आएका विरामीलाई वीपीको मुख्य अस्पतालमा आउन नपर्ने गरि सबै सेवाहरु त्यही विस्तार गर्ने योजना छ, यसले संक्रमण फैलन दिदैन,’प्रतिष्ठानका सहप्रवक्ता डा.अशोक ऐरले भने,‘हरेक उपकरण, स्थान, अप्रेशन सबै कोभिड भएको र नभएको विरामीको लागि अलग्गै गरिएको हो ।’ संघीय सरकारले वीपी प्रतिष्ठानलाई कोभिड १९ उपचारको लागि लेभल थ्री(३) अस्पतालको स्तरमा वर्गीकरण गरेर राखेको छ ।

covid-hospital-bp