धरान: मुख्यमन्त्री शेरधन राईले प्रदेश नम्बर एक कोरोना भाइरसको केन्द्रविन्दुकोरुपमा देखा परेपनि सरकारको तयारी राम्रो रहेकोले आत्तिनु पर्ने अवस्था नभएको बताएका छन् ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आजदेखि सञ्चालनमा आएको कोभिड १९ अस्पताल निरीक्षण पछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिर्दै मुख्यमन्त्री राईले यस्तो बताएका हुन् । प्रदेश नम्बर एक कोरोना भाइरसको केन्द्रविन्दुको रुपमा देखापरेको भएपनि प्रदेश सरकारको अत्यन्तै राम्रो तयारी भएकोले विचलित नहुन उनले प्रदेशका जनतालाई अपिल गरेका छन् । ‘प्रदेश नम्बर एक कोरोना भाइरसको केन्द्रविन्दुकोरुपमा देखा परेको छ । तर प्रदेश सरकारको अत्यन्तै राम्रो तयारी भएको हुनाले अलिकति पनि आत्तिनु पर्ने, विचलित हुनुपर्नेै अवस्था छैन,’मुख्यमन्त्री राईले भने,‘हामीले एक हप्तामा नै विराटनगरमा कोभिड अस्पताल तयार गर्यौं, जहाँ संक्रमितहरुलाई राख्ने गरेका छौं । जहाँ जहाँ संक्रमण देखिएको छ, त्यहाँ परीक्षण कार्यलाई तीब्र बनाएका छौ, फराकिलो बनाएका छौं ।’
मुख्यमन्त्री राईले प्रदेश एकमा संक्रमणको जतिसुकै संख्या देखा परेपनि त्यसलाई व्यवस्थापन गर्न सक्ने, उपचार गर्नसक्ने क्षमता विस्तार गरेर तयारीको साथ, व्यवस्थापनको साथमा काम गरिराखेका बताए । ‘यहाँ एक हप्तामा १०० बेडेका अस्पताल तयार भएको छ, र थप १०० बेडको तयारी गर्न सकिन्छ । यही ठाउँमा परिस्थिति हेरेर संख्या अझै थप गर्न सक्छौं,’मुख्यमन्त्री राईले भने,‘सबै प्रकारका विकल्प, उपाय र प्रयासहरुको साथमा कोडिभ १९ लाई पराजित गर्न एक ढिक्का भएर जुटेका छौैं । आत्तिनुपर्ने, विचलिन हुनुपर्ने केही पनि छैन ।’
मुख्यमन्त्री राईले अपनाउनुपर्ने सावधानी अपनाएर, लकडाउनमा पालना गर्नुपर्ने अनुशासनहरु पालना गरेर, संक्रमितहरुलाई उपचारको व्यवस्था गरेर तथा संक्रमण विस्तार हुन नदिएर कोरोना भाइरसलाई पराजित गर्ने पनि अठोट व्यक्त गरे । उनले भने,‘कोही पनि विचलित नहौ, नआत्तिऔं ।’