धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीले पहिलो चरणमा सय बेडको कोभिड अस्पताल निर्माण भएको उल्लेख गर्दै ५ सय बेडको बनाउने योजना रहेको बताएका छन् ।
कोभिड-१९ अस्पताल आइतबारदेखि सञ्चालनमा आएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिदै उपकुलपति डा.गिरीले दोस्रो चरणमा सय बेड थप्ने पनि खुलाए । ‘पहिलो चरणमा सय बेडको अस्पताल बनायौं, अब दोस्रो चरणमा सय बेड थप्छौं,’डा.गिरीले भने,‘दिनरात काम गरेर एक हप्ताभित्र यो अस्पताल बनायौं, अब एक हप्ताभित्र सय बेड थप्ने काम शुरु हुन्छ ।’
उपकुलपति डा.गिरीले २ सय बेडको अस्पताल तयार भइसके पछि नजिकैको एकेडेमिक हललाई पनि ३ सय बेडमा परिणत गरेर कोभिड १९ अस्पताललाई ५ सय बेड बनाउने योजना गरेको बताए । ‘यही अस्पालमा अपरेशन थिएटर, आइसियु, ल्याब राखेका छौं । अस्पतालमा चाहिने सबै यही राखेका छौं,’उपकुलपति डा.गिरीले भने,‘गर्भवती महिला संक्रमित भएर आउदा पनि अप्रेशन यही गर्ने छौं । अस्पतालमा चाहिने सबै युनिटहरु बनाएका छौं ।’
उपकुलपति डा.गिरीका अनुसार कोभिड अस्पतालमा छुट्टै सिटिस्क्यान पनि सञ्चालनमा आउनेछ । यसको लागि सरकारसँग कुरा गरिसकेको र सकरात्मक कुरा आएको पनि उनले बताए । ‘हामी प्रोसेसमा छौं । सिटि त्यही हुन्छ, एक्स रे त्यही हुन्छ, ल्याब पनि त्यही हुन्छ,’उपकुलपति डा.गिरीले भने । उनका अनुसार वीपी प्रतिष्ठानलाई सरकारले लेभल थ्री(३)को अस्पतालमा वर्गीकरण गरेकोले कोरोना संक्रमण भएको र अन्य स्वास्थ्य समस्याहरु भएका विरामीको उपचार पनि यही हुनेछ ।
कोभिड १९ को उपचारमा खटिने स्वास्थ्यकर्मीहरुलाई पिपिईलगायत व्यवस्था गरिएको पनि डा.गिरीले बताए । प्रोटोकल अनुसार औषधीहरु पनि व्यवस्था गरिएको उनको भनाई थियो । ‘पिपिई विना स्वास्थ्यकर्मीहरु त्यहाँ जादैनन् । संस्थाले तयार गरिसकेको छ,’उनले भने ।