धरान: इलाका प्रहरी कार्यालय धरानलाई शुक्रबार राती धरान ११, मंगलबारेस्थित एक घरमा हतियार भएको सुचना आयो । प्रहरी राती करिब ९ बजे नै उक्त घरमा सर्च गर्न पुग्यो ।

हतियार छ भन्ने सुचना आएको उक्त घर सुचिम राईको थियो । प्रहरी पुगेर घरमा खानतलासी गर्दा त्यहाँ डेरा लिएर बसेका १९ बर्षीय प्रक्षितजंग क्षेत्रीको कोठाबाट प्रहरीले मेडइन क्यानाडा लेखिएको १२ बोरको बन्दुक फेला पार्यो । प्रहरीले उनलाई केरकार गर्दा एउटा रहस्य खुल्यो, त्यो बन्दुक उनको थिएन । उनलाई धरान १३ निवासी हुकुमसिंह लिम्बुले १५ हजारमा जकेटी(धरौटी) राखेको खुल्यो । ‘तत्काल सोधपुछ गर्दा धरान १३ बस्ने मुलुकसिंह लिम्बुबाट हतियार लिएको जानकारी प्राप्त हुनासाथ मुलुकसिंहकोमा पुग्यौं र त्यहाँ पनि एउटा पोइन्ट २२ लंग राईफल, त्यसमा प्रयोग हुने म्याग्जिन र गोली २ राउण्ट पनि फेला पार्यौं,’डिएसपी ढुण्डीराज न्यौपानेले भने,‘अनुसन्धान गर्दा मुलुकसिंहले आफुसँग भएको हतियार जकेटी राखेर प्रक्षितजंगबाट १५ हजार लिएको भन्ने खुलेको छ ।’

gun-men

दुवैलाई आइतबार जिल्ला अदालतबाट हातहतियार र खरखजना मुद्दामा एक साताको म्याद लिएर थप अनुसन्धान गरिरहेको पनि डिएसपी न्यौपानेले जनाएको छ । ती हतियार लाइसेन्स प्राप्त भए नभएको अहिलेसम्म नखुलेको पनि उनले बताए । त्यसबारे अनुसन्धान भइरहेको छ । ‘लाइसेन्स प्राप्त भएपनि आफुसँग अनुमति प्राप्त हतियार अरु कुनै व्यक्तिको कोठामा वरामद हुनु र त्यसलाई पैसामा जकेटी राख्नु पनि गैरकानुनी कार्य हुनजान्छ,’डिएसपी न्यौपानेले भने,‘मुलुकसिंहलाई पैसाको धेरै अभाव भएकोले बेलुकीको समयमा गाडी प्रयोग गरेर त्यहाँसम्म पुर्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।’ मुलुकसिंह घरमै बस्ने र प्रक्षितजंग पनि डेरा लिएर बस्ने गरेको देखिएको डिएसपी न्यौपानेले बताए । मुलुकसिंह विगतमा लागुऔषध डिल गर्ने सुचना आएको र निगरानी गरिरहेको अवस्था भएको उनले बताए ।

gun