धरान: सुनसरी क्षेत्र नं १ बाट निवार्चित प्रतिनिधिसभाका सदस्य एवं सांसद जयकुमार राईले निर्वाचन क्षेत्रमा साढे १३ हजार किलो चामल वितरण गर्न लागेको बताएका छन् ।
उनले नेकपाबाट निवार्चित संघीय र प्रदेशसभाका सांसदहरुले आफ्नो निर्वाचन क्षेत्रका सबै २७ वटै वडा कार्यालयमा उक्त परिणाम बराबरको चालम राहत स्वरुप उलब्ध गराउने बताएका हुन् । उनले हिजो आइतबार निर्वाचन क्षेत्र नं १ को रामधुनी नगरपालिकाको २ वटा वडा र बराहक्षेत्र नगरको ५ वटा वडामा राहत दिइएको जानकारी दिए । साथै, आज(सोमबार) धरानको वडा नं १७, १८, ११, १९ र १३ नम्बर वडा कार्यालयमा पनि राहत बुझाइएको उनले बताए । ‘भोलीसम्म धरानको पनि २० वटै वडा कार्यालयमा राहत स्वरुप चामल दिइसक्छौं, कुल २७ वटै वडामा १३ हजार ५ सय केजी चामल वितरण गछौं,’उनले भने । धेरै र कम जनसंख्या भएको वडामा सोही अनुरुपको राहत वितरण गर्ने पनि सांसद राईले जानकारी दिए ।
एक द्वार प्रणाली अन्र्तगत फुड बैंकमा संकलन भएको राहत पनि वडा कार्यालयमार्फत नै वितरण हुने भन्दै सांसद राईले फुडबैंक मार्फत वितरण हुने राहतमा सहयोग पुर्याउन वडा कार्यालयमा राहत दिइएको जिकिर गरे । ‘यो फुड बैंकमा नै जम्मा गरेको हो, व्यक्ति व्यक्तिलाई, वस्तीमा बाँडेको भए एक द्वार प्रणालीको विरोधमा हुन्थ्यो । तर नगरपालिकाको वडामा वितरण गरेका छौं, त्यसो भएको हुनाले फुड बैंकमा जम्मा गरेको बुझिदिनको निम्ति हार्दिक अनुरोध गर्दछुँ,’सांसद राईले भने ।