धरान: विश्वव्यापीरुपमा कोरोना भाइरस(कोभिड १९)को महामारीसँग जुध्न लकडाउनको सामना गर्नुपरिहेको बेला धरान २० विष्णुपादुकाका किसानहरुलाई भने फौजी किराले पनि सताएको छ ।
धरानको कृषि क्षेत्र घोषित वडा नं २० को चिण्डे डाँडा, कालीमाटी, गुरुङ छापलगायतमा किसानले लगाएको मकै वालीमा फौजी किराको प्रकोप देखा परेको छ । स्थानीय किसानहरुलाई यतिबेला कोरोना र लकडाउन भन्दा पनि फौजी किराले मकै वाली सखाप बनाउने भो भन्ने पिरलो छ । ‘मकै वालीमा फौजी किराको प्रकोप देखा परेकोले वडाबासी किसानहरुलाई चिन्ता छ,’वडा सदस्य कर्णबहादुर तामाङले भने,‘विज्ञ आएर हेर्नुभयो, छिट्टै नियन्त्रण नगरे प्रकोप झन् बढेर गाह्रो हुन्छ भन्नुभएको छ ।’
मकै वालीमा फौजी किराको प्रकोप बढेको जानकारी पाएपछि आज(मंगलबार) दिउँसो किट वैज्ञानिकसहित उपमेयर तथा अनुगमन समितिकी संयोजक मञ्जु भण्डारी सुवेदी अनुगमनमा चिण्डे डाँडा पुगेकी थिइन् । अनुगमनमा क्षेत्रीय कृषि अनुसन्धान केन्द्र तरहराका किट बैज्ञानिक किसोर भण्डारी, नगर प्रहरी निरीक्षक विष्णु कोइराला पनि थिए । वैज्ञानिक भण्डारीका अनुसार मकै वालीमा अमेरिकन फौजी किराको प्रकोप देखा परेको छ । यो किरालाई अण्डा र लार्भा अवस्थामा नै नष्ट गर्न सकेमात्र प्रकोप नियन्त्रण गर्न सकिने भएकोले स्थानीय किसानहरुलाई उपायहरु बताएको पनि उनले बताए । ‘किसानहरुलाई प्राविधिकरुपमा के गर्ने भनेर पनि सिकाएका छौं, जति सक्दो चाडो थाह पाएर नियन्त्रण गर्न कदम चाल्ने हो भने मात्र नियन्त्रण सम्भव छ,’उनले भने । लार्भाबाट प्युपा बन्ने र पुतली निस्कियो भने एक रातमा सय किलोमिटरसम्म उड्ने क्षमता भएकोले झन् प्रकोप फैलने वैज्ञानिक भण्डारीले बताए ।
यसअघि धरान १७ पटनाली र धरान ६ पानवारी क्षेत्रमा पनि धानवाली, मकै वालीमा पनि फौजी किराको प्रकोप देखा परेको थियो । पानवारीमा फौजीले धानवालीलाई निक्कै क्षति पुर्याएको थियो भने उपमहानगरको प्रयासमा नियन्त्रण पनि आएको थियो । उपमेयर भण्डारीले कृषि महाशाखाबाट आवश्यक बजेट व्यवस्थापन गरेर मकै वालीको प्रकोप नियन्त्रणमा तत्काल आवश्यक कदम चाल्ने बताएको वडा सदस्य तामाङले जानकारी दिए । ‘उहाँले यो कृषि क्षेत्र भएकोले कृषि महाशाखाबाट बजेट व्यवस्थापन गरेर तत्काल नियन्त्रणको प्रयास थाल्ने बताउनु भयो,’उनले भने ।