विराटनगर: प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले शिक्षालाई प्रविधिसँग जोड्नुपर्नेमा जोड दिएका छन् ।
प्रविधि विनाको ज्ञान उपयोग हुन नसक्ने भएकाले यसको प्रयोग गर्नुपर्ने मन्त्री घिमिरेको भनाई छ । सामाजिक विकास मन्त्रालयद्धारा सञ्चालित भर्चुअल अनलाईन तालिममा बोल्दै मन्त्री घिमिरेले प्रविधिका माध्यमबाट जिविकाको साधन खोजी गरिनुपर्ने बताए । जनशक्तिको उत्पादनविना प्रविधिको गीत गाउन नसकिने उनले बताए । उनले भने,‘जनशक्ति उत्पादनको केन्द्र शिक्षालय हो ।’
शिक्षकहरु दक्ष भएमात्र जनशक्ति उत्पादन गर्न सकिने भएकाले शिक्षकमा इ-लर्निङको ज्ञान हुनुपर्ने मन्त्री घिमिरेले बताए । शिक्षकलाई दक्ष बनाउनुपर्छ भन्ने सोचका आधारमा मन्त्रालयले पहिलो क्रियाकलाप शिक्षक केन्द्रित गरेको उनले बताए । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले देशव्यापी लकडाउन गर्नुअघि देखि नै इ-लर्निङ काम शुरु गरिसकेको मन्त्री घिमिरेले बताए । प्रदेश १ लाई १० वर्षभित्रमा झोला र किताव विस्थापीत गर्ने घोषणा अनुसार मन्त्रालयले काम गरिरहेको उनले बताए ।
प्रदेश १ का १ सय विद्यालयका १ सय फोकल शिक्षकलाई केन्द्रित गरेर इ-लर्निङ काम शुरु गरेपछि यसको माग बढ्दै गएको मन्त्री घिमिरेले बताए । उनले प्रविधितर्फ अहिले आकर्षण बढेको बताए । उनले भने,‘भविष्यको गन्तव्य प्रविधिबाट तय हुन्छ भन्ने निश्कर्षमा हामी पुगेका छौं ।’ नयाँ सिकाईको खोजीमा रहेको र थालनी भएको उनले बताए ।