आसफोर्ड(बेलायत): कोभिड–१९ कोरोना महामारीलाई नियन्त्रण गर्न रातदिन नभनी अग्रमोर्चामा खटिरहेकाहरूलाई बेलायतमा रहेका नेपालीहरूले पनि भिन्न तरिकाले सम्झेका छन् ।

महामारीले आक्रान्त भइरहेको मुलुकका बासिन्दाहरूलाई प्रेरित गर्न नेपाली युवाहरूले मौलिक सँस्कृतिलाई अग्रमोर्चाकर्मीहरूको हौसलामा प्रयोग गरेका छन् । संयुक्त अधिराज्य(यूके)मा प्रत्येक साताको बिहीबार साँझ ८ बजे साप्ताहिक रूपमा आमा मानिसहरू घरबाहिर या कार्य क्षेत्रमा उभिएर राष्ट्रिय स्वास्थ्य सेवा(एनएचएस) तथा अग्रभागमा रहेर काम गरिरहेकाहरूको सम्मानमा केही मिनेट ताली बजाउने गर्दछन् । कसै कसैले भने थाल ठटाउने, गीत गाउने या बाजा बजाउने पनि गरेका छन् ।

एनएचएसमा मात्रै करिब १३ लाख बढी स्वास्थ्यकर्मीहरू काम गरिरहेका छन् । यसका अलावा सुरक्षा, सरसफाई, सूचना तथा सञ्चार, खाद्य लगायतका क्षेत्रमा लाखौँ बढी मानिसहरूले जोखिम मोलेर काम गरिरहेका छन् । यसै सिलसिलामा भने पाचौँ हप्ताको सन्दर्भ पारेर बेलायतमा रहेका नेपाली युवाहरूले आदिवासी याक्थुङ(लिम्बु) समुदायमा लोकप्रिय परम्परागत बाजा च्याब्रुङ(के) बजाएर सम्मान व्यक्त गरेका छन् ।

लिम्बु जातिको बाक्लो बसोबास रहेको केन्टको आसफोर्डमा ती युवाहरूले साँझ ८ बजे लगत्तै घरबाहिर निस्केर च्याब्रुङ बजाएको किरात याक्थुङ चुम्लुङ आसफोर्डका अध्यक्ष टङ्क येङ्देनले बताए । ‘हाम्रो सँस्कृति एवम् संस्कारहरू आफूमा मात्रै सीमित नराखी विभिन्न उद्देश्यका लागि विभिन्न अवसरमा प्रयोग गर्न सकिन्छ भन्ने सन्देश युवाहरूले दिएका छन्,’अध्यक्ष येङदेनले भने ।

चुम्लुङ आसफोर्डको केलाङ समूहमा आबद्ध युवाहरूको च्याब्रुङ घन्किँदा स्थानीय समुदायहरू पनि प्रसन्न देखिन्थे । ‘सधैँ ताली बजाएर हौसला प्रदान गथ्र्यौ । यसपटक भने भिन्न अनुभव गराउन च्याब्रुङ बजाउँदा स्थानीय छिमेकीहरू रमाएका थिए,’ केलाङ समूहका अगुवा युवा गोकुल लिवाङले भने, ‘स्थानीय मूलका मान्छेहरूले मौलिक लोक बाजालाई चाख दिएर हेर्ने र सुन्ने काम गरे ।’ अर्का युवा पृथिहाङ येङदेनले महामारीविरूद्धको लडाइँमा सँस्कृतिलाई जोड्न पाउँदा गर्व लागेको सुनाए ।

बिहीबारको सार्वजनिक कार्यक्रममा च्याब्रुङ बाजासँगै प्लेकार्डमा सिरिजङ्गा लिपि र याक्थुङ भाषामार्फत् अग्रमोर्चाकर्मीहरूलाई धन्यवाद समेत दिइएको संयोजक अमित थेवे जानकारी दिए । उनले पछिल्लो समय महामारीको कारण देखा पर्न सक्ने सम्भावित सामाजिक समस्यालाई कम गर्न पनि आफूले सँस्कृतिमार्फत् सद्भाव र भावनात्मक एकताको सन्देश दिन खोजेको प्रष्ट पारे । जनवरीमा यूकेमा महामारी देखिएयता खासगरी एसियन मूलका अल्पसंख्यकहरूले केही असहजताको अनुभव पनि गरेका छन् । केही ठाउँमा छिटपुट रूपमा अवाञ्छित घटना पनि घटेका थिए । चुम्लुङ लगायत सामाजिक संस्थाहरूले च्याब्रुङलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्दै सङ्कटका बेला सँगसँगै उभिएको सन्द्ेश दिन सक्नुपर्ने व्यवसायी जितेन्द्र चेम्जोङले सुझाए ।

लकडाउनकै अवस्थामा रहेको यूकेमा अप्रिल मसान्तसम्म कोरोनाका कारण १,७१,२५३ संक्रमित भई २६,७७१ जनाको मृत्यु भइसकेको जनस्वास्थ्य बेलायतले जनाएको छ । झण्डै पौने सात करोड आवादी रहेको यूकेमा हालसम्म यस महामारीका कारण चार दर्जन बढी नेपालीको मृत्यु भइसकेको छ ।