धरान: कोरोना संक्रमणबाट जोगाउन धरान उपमहानगरपालिकाले भानुचोक, सडकहरुमा वेवारिस तरिकाले रहदै आएकाहरुलाई वैशाख १ गतेदेखि धरान ८ स्थित लांघाली सामुदायिक वन समुहको आवास गृहमा लागेर राख्न शुरु गर्यो ।

पहिलो दिनमै ४० भन्दा बढी महिला र पुरुषहरु थिए । तिनै मध्ये ३० बर्षीय एक युवा हुन्, जीवन लिम्बु । उनी गुमनाम थिए । युवा उमेरमा नै आफ्नो जीवनलाई मुल्यहिन बनाइसकेका थिए । उनी सडकमा बोतल टिपेर हिड्थे । सडक नै उनको जिन्दगी बनिसकेको थियो । उनलाई न केही गर्नुछ, न कही पुग्नुछ । बस्, वेमतलव आफुजस्तै साथीहरुसँग दिनभर यताउता डुल्न, दुई छाक खान पाए पुग्यो । बेला बखत श्रम पनि गर्थे । जिंग्रिङ् कपाल, फोहोर कपडाले ढाकेको शरीर । उनको हाल यस्तो थियो ।

तर, लांघाली आवास गृहमा पुगेको करिब ३ दिन पछि नै गुमनाम जीवन एकाएक भाइरल बने । क्लिधरानको फेसबुकपेजमा उनले ४ चिजको कमी छ भनेको भिडियो अपलोड भएपछि उनी भाइरल बने । फेसबुक र टिकटकमा उनको अनगिन्ति भिडियो बन्यो । लकडाउनले दिक्दार बनेकाहरुलाई उनको भिडियोले निक्कै मनोरञ्जन दिलायो । चार चिजको कमी छ, भन्ने जीवन को हुन् ? कहाँबाट आएका हुन् ? के गर्छन् ? धेरैलाई उनीप्रति चासो बढ्यो ।

jiwan

तीन साताको अवधिमा जीवन लिम्बु भाइरल मात्र बनेनन्, उनको जीवनमा पनि अकल्पनीय परिवर्तन आएको छ । उनी आफैले पनि आफ्नो जीवनमा यसरी परिवर्तन आउछ भन्ने सोचेका थिएनन् रे । सडकमा विन्दास तरिकाले हिड्ने जीवनको दैनिकी अहिले लांघाली आवास गृहमा सिमित छ, तर पनि उनी सन्तुष्ट छन्, खुशी छन् ।

उनी तेह्रथुमको शुक्रबारेबाट निक्कै अघि धरानतिर झरेका रहेछन् । आमा पहिला नै बितिन् भने बुबा गएको दशैंमा बिते । उनले करिब ४ बर्षअघि काठमाण्डौंमा एक व्यक्तिलाई मृगौला दिएका थिए । नारायणघाट बस्दा चिनजानबाट एउटा मृगौला दिएको उनले बताए । आफुले निःशुल्क दिने भन्दा पनि नमानेर ४ लाख दिएको उनले बताए । तर, त्यो पैसा कलकत्ताबाट आएको एक सातापछि रक्सी खाएर सुत्दा मोवाइलसहित चोरी भएको उनी बताउँछन् ।

jiwan-limbu1

उनी सरकारले राम्रो रोजगार दिएमा काम गर्ने बताउँछन् । ‘नगरपालिकाले काम दियोस् । कसैलाई सेक्युरिटी गार्डमा, महिनावारी तलब आउने काम लगाइदिदा गछौं,’उनी भन्छन्,‘सधैभरि यसरी त हुदैन । यो भन्दा पछाडि के होला ?’ उनले आफ्नो जीवनमा धेरै सुधार भएको पनि बताए । ‘राम्रो भइयो, सफा सुग्घर पनि भइयो,’उनी भन्छन्,‘पहिला बोरा बोकिन्थ्यो, बोटलहरु, जुत्ताको सुल, तामा, सिल्भर हुन्थ्यो ।’

पहिलाको जीवन र अहिलेको जीवन लिम्बुमा धेरै परिवर्तन आएको बताउदै उनले भविष्यमा राम्रो कमाई गर्ने र सकडमा विगतमा जस्तो बोरा बोकेर नआउने पनि बताए । ‘राम्रो हुन्छु, कमाउछु, राम्रो बनिन्छु भन्ने लाग्छ । मलाई सकडमा भेट्नु हुन्न, राम्रो अवस्थामा भेट्नु हुन्छ,’उनले भने ।