विराटनगर: आगामी आर्थिक बर्षको बजेट स्वास्थ्य र शिक्षामा बढी केन्द्रित हुने प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताएका छन् ।
शिक्षा पत्रकार समूहले आज आयोजना गरेको अनलाईन पत्रकार सम्मेलन तथा अन्तक्रिया कार्यक्रममा मन्त्री घिमिरेले यस्तो बताएका हुन् । यसअघिका बजेट भौतिक पूर्वाधारमा केन्द्रित हुने गरेको भएपनि मन्त्री घिमिरेले आगामी बजेट स्वास्थ्य र शिक्षामा बढी केन्द्रित गरेर आउने बताए । ‘यसअघिका बजेट ५१ प्रतिशत भौतिक पूर्वाधारमा हुने गरे पनि अव त्यसो हुँदैन,’उनले भने ।
बजेट निर्धारित मितिमै ल्याउनेबारे छलफल शुरु भएको भन्दै उनले आगामी आर्थिक बर्षको बजेटले स्वास्थ्य र शिक्षालाई बढी जोडदिने बताए । विश्वभर फैलिएको कोरोना भाईरसले स्वास्थ्य क्षेत्रको पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने अवस्था सृर्जना गरेको उनले बताए । आगामी वैशाख २५ गते सम्मको लकडाउन पछि शिक्षण संस्था सञ्चालनबारे निर्णय हुने मन्त्री घिमिरेले बताए । लकडाउन पछि शिक्षण संस्था सञ्चालनबारे विज्ञसँग परामर्श भईरहेको उनले बताए ।
शिक्षण संस्था सामाजिक दुरी कायम गरि पठन पाठन गराउन सक्ने अवस्थाका नभएकाले कसरी सञ्चालन गर्ने भन्नेबारे छलफल भईरहेको मन्त्री घिमिरेले बताए । कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणका लागि स्थगित भएको एसईई परीक्षा सञ्चालनबारे पनि छलफल भईरहेको उनले बताए । परीक्षा केन्द्रको दायरा बढाएर दुरी कायम गरि परीक्षा सञ्चालन गरिने मन्त्री घिमिरेले बताए । प्रदेश १ का विद्यालयलाई प्रविधिमैत्री बनाईने उनले बताए । प्रदेशका ग्रामिण भेगमा इन्टरनेट पहुँचबारे अध्ययन भईरहेको उनको भनाई छ । उनले भने,‘इन्टरनेटको पहुँच नपुगेका स्थानमा पहुँच पु¥याउने प्रवन्ध गरिन्छ ।’