धरान: मुश्लिमहरुको पत्रिव महिना रमजानको उपलक्ष्यमा अञ्जुमन इस्लामिया धरानले लकडाउनबाट समस्यामा परेका विपन्न परिवारहरुलाई राहत वितरण गरेको छ ।
आज बिहान धरानस्थित मस्जिदबाट विपन्न परिवारहरुलाई रोजा प्याकेज वितरण गरिएको हो । इस्लामियका अध्यक्ष शेख युसुफ अलिका अनुसार २ सय ४० घरपरिवारलाई राहत वितरण गरिएको छ । ‘बर्ष दिनमा रमजान भन्ने महिना हुन्छ । यो महिनामा विपन्न परिवारलाई सहयोग छौं । यसपाली लकडाउनमा गरेका छौं,’अध्यक्ष अलिले भने ।
राहत वितरणको शुभारम्भ कार्यक्रममा धरानका मेयर तिलक राईले संक्षिप्त मन्तव्य राख्दै सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न उपमहानगरपालिका गम्भीर रहेको बताए । सामाजिक सञ्जालहरुमा सद्भाव विथोल्ने खालका केही धारणाहरु आएकोप्रति उपमहानगरपालिकाको ध्यानाकर्षण भएको पनि उनले बताए । ‘तपाईहरुको यो कार्यले धरानमा सामाजिक सद्भाव, धार्मिक सहिष्णुताको लागि हामी सबै एक छौं भन्ने सन्देश दिन्छ,’मेय राईले भने,‘हामी सबैको उद्देश्य एकै छ, मानवता, मानवीय विकास र विपन्नहरुलाई सहयोग गर्ने मकसद हो ।’
अञ्जुमन इस्लामियाका सचिव तथा मुश्लिम आयोगद्वारा गठित सुनसरी जिल्ला अनुगमन समितिका सदस्य अफाक अहमदका अनुसार मुश्लिम परिवारलाई मात्र नभै सबै जाति, धर्म तथा समुदायका विपन्न परिवारलाई राहत प्याकेज वितरण गरिएको छ । ‘हामीले वडाबा पनि विपन्नको केही विवरण लियौं, र संस्थागतरुपमा सिफारिश भएर आएकाहरुलाई पनि दिएका हौ,’उनले भने । उनका अनुसार एक महिने ब्रत(रोजा) ९ दिनअघिदेखि शुरु भएको छ ।