धरान: लकडाउन लम्बिदै जादा धरानको बजेट तथा विकासका योजनालाई दुरगामी असर पार्ने सम्भावना देखिएको छ ।

लकडाउनको कारण विकास निर्माणका कार्यहरु सुचारु गर्न समस्या भएपछि बजेट तथा विकासको योजनाहरुमा दुरगामी प्रभाव पर्ने छाँट देखिएको हो । चालु आर्थिक बर्षमा लकडाउनको कारण आन्तरिक आम्दानीसँगै केन्द्र र प्रदेश सरकारबाट आउने सहयोगमा पनि ५० प्रतिशत कमी हुने निश्चित भएको धरानका मेयर तिलक राईले बताए । जसको कारण वडाको योजना, नगरस्तरीय योजना ५० प्रतिशत भन्दा बढी कटौती हुने उनले बताए । ‘नगर गौरवको योजना शुरु नभएको र वडाको पनि योजनाहरु कटौती हुन्छ,’मेयर राईले भने,‘सम्झौता नभएका योजनाहरु सम्झौता नगर्ने, भर्खर शुरु मात्र भएका र पुरा नभएका योजनालाई कार्यान्वयन नगर्ने, र जुन योजनाहरु ८० प्रतिशत काम भइसकेको छ, तिनीहरु मात्र अघि बढ्छ ।’

भौतिक पुर्वाधार विकासको बजेट कटौती गरेर धरानले राहत वितरणमा खर्च गर्नुपर्ने अवस्था आएको मेयर राईले बताए । उनका अनुसार विदेशबाट र विभिन्न संघसंस्थाबाट भएको सहयोग २० देखि २५ प्रतिशत मात्र राहतमा सपोर्ट भएको छ । बाँकी ७५ प्रतिशत बजेट उपमहानगरपालिकाकै बजेटबाट व्यवस्थापन गर्नुपरेको उनले बताए । ‘त्यो कुनै न कुनै योजना, भौतिक पुर्वाधार, चालु बजेटबाटै कटौती गर्नुपर्ने स्थिति छ । यो बिषयमा वडाअध्यक्ष, वडा सचिवहरुलाई जानकारी गराइसकेका छौं,’उनले भने,‘लकडाउनले २ वटा कुरा सँगसँगै ल्यायो । अप्रत्यक्ष खर्च राहतमा बढेर गयो । लकडाउनको कारणले भौतिक पुर्वाधार योजना सम्पन्न नहुने स्थितिमा पुग्यो ।’

drain

मेयर राईका अनुसार योजना कटौती गरेर राहतमा रकमान्तर गर्न केही समयको लागि मात्र भएपनि नगरसभा बस्नुपर्ने हुन्छ । यसको लागि महाशाखाहरुलाई आफु मातहतको खर्च नहुने बजेट र वडा कार्यालयहरुलाई पनि खर्च नहुने योजनाबारे माग भइसकेको मेयर राईले बताए । ‘तिनै योजनाहरु कटौती हुन्छ । पारदर्शिता र प्रक्रिया पुरा गर्नको लागि नगरसभा छोटो समयको लागि भएपनि बस्छौं,’उनले भने ।

लकडाउनले समस्यामा परेका विपन्न परिवारहरुलाई राहत वितरण गर्न न्युनतम ४ करोडदेखि ६ करोड खर्च हुने सम्भावना रहेको मेयर राईले बताए । यस्तै, स्वास्थ्यमा ५० लाख देखि १ करोड खर्च हुने उनको अनुमान छ । क्वारेन्टाइन थप बढाउनुपर्ने अवस्था आएमा स्वास्थ्यको खर्च अझै बढी हुने उनले बताए ।