धरान: सरकारले राजमार्गका होटल र रेष्टुरेष्टहरु खोल्न दिने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै अर्थमन्त्री तथा सरकारका प्रवक्ता डा.युवराज खतिवडाले यस्तो जानकारी गराएका हुन् । उनका अनुसार ढुवानीको साधन लिएर हिड्नुपर्ने चालकहरु, अतिआवश्यकीय काममा हिड्नुपर्ने व्यक्तिहरुको लागि सेवा प्रवाह गर्न जरुरी भएकोले राजमार्ग र सहायक राजमार्गमा होटल, रेष्टुरेष्टलगायत खोल्न दिइने सरकारले निर्णय गरेको बताए । तर, ती होटल तथा रेष्टुरेष्टहरु कम्तीमा ५० किलोमिटरको दुरीमा मात्र खुल्न दिइनेछ ।
मन्त्री खतिवडाका राजमार्गमा होटल, रेष्टुरेष्टसँगै सवारीसाधान मर्मत गर्ने वर्कसप र पेट्रोल पम्प पनि खोल्न दिइनेछ । तर, ती सबै सम्बन्धित स्थानीय तहले तोकेको स्थानमा मात्र खुल्न पाउनेछ । यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वीकृत गरेको मापदण्ड अवलम्बन गर्नुपर्ने पनि मन्त्री खतिवडाले जानकारी दिए । होटल तथा रेष्टुरेष्टहरुले भने खानाको प्याकेट मात्र बिक्री गर्ने गरी सञ्चालन गर्ने व्यवस्था स्थानीय प्रशासनले मिलाउने पनि उनले बताए । ‘राजमार्ग र सहायक राजमार्गमा सञ्चालन हुने सवारी साधनहरु उपयुक्त वमोजिम निर्धारित समय र स्थानमा मात्र रोक्न पाउने व्यवस्था पनि गर्ने निर्णय गरिएको छ,’मन्त्री खतिवडाले भने ।
उनका अुनसार रोजगारदाता, स्थानीय तह, सेवा प्रदायक र स्थानीय प्रशासनले आवागमन सहजीकरण गर्ने, सामाजिक दुरी कायम गराउने, काम गर्ने र हिडडुल गर्नेले मास्क प्रयोग गर्नुपर्नेछ । यस्तै, शरीरको तापक्रम मापन गर्ने, स्यानिटाइजर र ग्लोब्स प्रयोग गर्ने, विद्युतीय कारोबार गर्ने, नगद कारोबार गर्दा खुद्रा पैसाको लेनदेन कम हुने गरी गर्ने व्यवस्था गर्नुपर्ने पनि उनले बताए । ‘एक ठाउँमा ५ जना भन्दा बढी व्यक्ति जम्मा नहुने गरी यो सब काम गर्ने भन्ने निर्देशन भएको छ,’डा.खतिवडाले भने ।