धरान: आजदेखि बैंक तथा बित्तिय संस्थाहरु सञ्चालनमा आउने भएको छ ।

मन्त्रिपरिषदको निर्णय अनुसार बैंक, विमा, सहकारीलगायत बित्तिय संस्थाहरु सञ्चालनमा आउने भएको हो । यसअघि धरानमा अधिकांश बैंकका शाखाहरु दिन बिराएर आलोपालो तरिकाले मात्र खुलेका थिए । मितेरी डेभलपमेन्ट बैंकले भने धरानस्थित मुख्य कार्यालय र शाखा कार्यालयहरुबाट सधै सेवा प्रवाह गरेको थियो । आजदेखि सम्भवतः सबै बैंकका शाखाहरु खुल्नेछन् । ‘मन्त्रिपरिषदले निर्णय गरेको हुनाले आजदेखि सबैजसो बैंकका शाखाहरु खुल्छ,’मितेरी बैंकका सिईओ तुलसीप्रसाद वस्तीले भने,‘मितेरी त सधै खोलेकै थियौं ।’

लक्ष्मी बैंकका प्रदेश १ को क्षेत्रीय सञ्चालन अधिकारी बर्बरिक पोखरेलका अनुसार भौगोलिकरुपमा विकटता भएर खोल्नै नसक्नेबाहेकका प्रदेशका सबै शाखाहरु खोलिने बताए । ‘प्रदेश १ मा हाम्रो १८ वटा शाखा छ, ती मध्ये १२ वटा जति खुल्छ,’उनले भने,‘भौगोलिकरुपमा कठिनाइ भएको, खोल्नै नसक्ने शाखा खुल्दैन ।’