धरान: भारतले नेपाली भुमी अतिक्रमण गरेको बिषयले सदन मात्र होइन, सडक पनि तातिएको छ ।
भारतले चीनसँगको नाका पुग्न नेपाली भुमी हुदै बनाएको सडक उद्घाटन गरेपछि नेताहरु मात्र होइन,आम जनतामा पनि आक्रोश छ । बैशाखको गर्मी र लकडाउनको पर्वाह नगरी हिजोआज दिनहुँ विरोध प्रर्दशन भइरहेको छ । काठमाण्डौं मात्र होइन, मोफसलका शहर र सडकहरु पनि तातिएको छ । धरानमा पनि हिनहुँजसो विरोध प्रर्दशन हुदै आएको छ ।
सोही क्रममा आज दिउँसो १ बजे नेपाल विद्यार्थी संघले महेन्द्र बहुमुखी क्याम्पसबाट विरोध प्रर्दशन गरेको थियो । संघलाई तरुण दलको पनि साथ थियो । तर, क्याम्पस बाहिर भने प्रहरी तैनाथ थियो । लकडाउनको बेला ठुलो संख्यामा भेला भएर प्रर्दशन हुने भएकोले प्रहरीले सकेसम्म क्याम्पस क्षेत्रमै रोक्ने तयारी थियो । विद्यार्थीहरु पनि क्याम्पसको गेटबाट कसरी फुत्किने भनेर योजना बुनेका थिए ।
नाराबाजी गर्दे निस्केको विद्यार्थी, युवाहरुलाई गेटमा प्रहरीले रोक्ने प्रयास त गर्यो, तर सकेन । विद्यार्थीहरु नारा लगाउदै कभर्ड हलतिरबाट र केही विद्यार्थीहरु खहरेको किनार हुदै भानुचोकतर्फ भाग्न सफल भए । उनीहरु पुनः भानुचोकमा भेला भएर नाराबाजी गर्दै गर्दा इलाका प्रहरी कार्यालयका डिएसपी ढुण्डीराज न्यौपानेको कमाण्डमा पुगेको प्रहरीले विद्यार्थी नेताहरुलाई पक्राउ गर्यो ।
महेन्द्र क्याम्पसका स्ववियु सचिव तथा नेवि संघ इकाई कार्यवाहक सभापति दोर्जी शेर्पाका अनुसार ९ जना पक्राउ परेका छन् । उनीसहित संघका जिल्ला सचिव टकेन्द्र राई, रोशन चोङबाङ इकाई सचिव, जिल्ला सदस्य विमल बुढाथोकी, क्षेत्रीय सचिव विनोद आले मगर, केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारका इकाई उपसभापति कृष्ण बडु ईकाई सहसचिव अजय लिम्बु, क्षेत्रीय सदस्य उत्तम राई पक्राउ परेका छन् ।