धरान: समाचार संकलन तथा रिपोर्टिङ गर्न फिल्डमा पुग्ने पत्रकारहरुमा पनि कोरोना संक्रमण देखिन थालेपछि प्रदेश १ का तीन जिल्लामा पनि पत्रकारहरुको कोरोना परीक्षण गरिने भएको छ ।

लकडाउन तथा संक्रमण जोखिमको बेला पनि फिल्डमा खटिने सुनसरी, मोरङ र झापाका पत्रकारहरुको कोरोना परीक्षणको तयारी भएको हो । पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष सन्तोष काफ्लेका अनुसार प्रदेश महासंघसँगको समन्वय तथा पहलमा पत्रकारहरुको परीक्षणको तयारी भएको हो । ‘हामी सञ्चारकर्मीहरु रिपोर्टिङ गर्न फिल्डमा पुग्नुपर्ने बाध्यता छ, त्यसैले संक्रमणको जोखिम पनि छ,’उपाध्यक्ष काफ्लेले भने,‘त्यही भएर फिल्डमा सक्रियरुपमा खटिने तीन जिल्लाका पत्रकारहरुको परीक्षण गर्ने पहल भएको हो ।’

उपाध्यक्ष काफ्लेका अनुसार कोशी अस्पताल विराटनगरस्थित प्रयोगशाला र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा पत्रकारहरुको कोरोना परीक्षण गरिनेछ। हिजो शुक्रबार राती स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको ९ जना संक्रमितको संख्यामा एक जना उदयपुका पनि थिए । उनी टेलिभिजनमा कार्यरत सञ्चारकर्मी हुन् । यसअघि पर्साको वीरगञ्जमा पनि पत्रकारलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।