ती नेताहरू महान हुन् जसले युग परिवर्तनको नेतृत्व गर्छन्, समाजका विभेदकारी जुइनाहरू चुँडाउछन्, संस्कार रुपान्तरणको नयाँ समीकरण बनाउँछन्, आफूआदर्शको शिखर मै रही रहने प्रयत्न गर्छन्, पुँजीवादी साइनोहरूमा गाँसिएर लोभ र धनको मोहमा फस्नु अघि नै मृत्युवरण गर्छन् ।
तिनलाई राजनेता हुन् भनेर इतिहासले संझाई रहन्छन् ।

तर, नेपाल यस्तो भूमि हो जहाँ एउटाको आदेशमा, एउटाले अर्कालाई, उसको कसुर थाहै नपाए पनि, गोली ठोक्ने 'बहादुर'हरू जन्मन्छन् । उनकै छातीमा ठूलाठूला तक्माहरू भिराइन्छन् । सत्ताको सिँढी उक्लनु हरेक कार्यकर्ताको अभीष्ट हुन्छ । कुर्सीमा पुग्नेले जति लुटे नि हुन्छ । 'राज्यको मुहार बदल्छुु' भन्नेहरु, सबै क्रमशः आ-आफ्ना परिवारको हैसियत बदल्न सफल हुन्छन्, र पछिल्लो पुस्ताको आकर्षणको पेशा भएर मौलाएको छ यहाँ राजनीति नामको ढाँट्ने व्यवसाय ।

कुनै शीप र शैक्षिक योग्यता नचाहिने, कतै लाइसेन्स लिनु नपर्ने, योग्यता परीक्षामा सामेल हुनु नपर्ने, नैतिकता उच्च भएको नचाहिने, हुल बाँधेर समाज तर्साउन सक्ने भए पुग्ने, मनी र मसल भए सत्तामा पुगिने (पुगेपछि लुट उद्योगमा कुनै न कुनै गुटले अधिगोपन गरिहाल्ने ) व्यवसाय बनेको देशको राजनीतिक संस्कारले राजनेता जन्माउने कुरा अहिले नै पत्यारिलो लाग्दैन ।

मातृभूमिका लागि प्राणको बलिदान गरेर जीवन उत्सर्ग गर्नेलाई शहीद भनिन्छ । नेताको गुटरक्षाको झडपमा मारिनेलाई दङ्याई दङ्याई राज्यशक्तिको चरम दुरूपयोग गरेर, सिर्फ दशलाख रूपियाँको क्षतिपूर्तिका लागि, जुन देशमा शहीद भएको घोषणा गरिन्छ, त्यो सत्ताको नैतिकताको चर्चा गर्ने विषय नै के बाँकी रहन्छ र ? शहीद शब्दको नै उपहास भएको महसुस हुन्छ -परिघटना नियाल्दा ।

rajendra-sharma

लेखक डा.राजेन्द्र शर्मा ।

 नेपालको यही बियाडमा कुनै महान राजनेता जन्मन सक्ने सबै संभावनाहरूलाई समेत पूँजीवादी धन र लाभको जञ्जालले लगभग शून्य बनाएको छ । नेपाली राजनीतिको मुख्य फसल 'बेरोजगारी' हुँदै आएको परिप्रेक्षलाई मध्यनजर गर्ने हो भने कोरोनाको कारण रोजगारी गुमाउन पुगेका लगभग २० लाख युवा र तिनको प्रभावमा रहने परिवार नै नेपालको वर्तमान राजनीतिक समीकरणमा फेरबदल गराउन सक्ने ठूलो शक्ति बन्ने पक्का छ । ढिलो वा चाँडो अढाई तीन वर्ष पछि आउने चुनाउ अघि नै नेपालमा एकपल्ट फेरि राजनीतिक परिवर्तनको संभावना प्रचूर भएर गएको छ । 'को को बढारिने हुन् त्यस हुरीमा ?' त्यो त समयले बताउला, तर परिवर्तन अवश्यंभावी छ ।

आशा गरौं- अबको परिवर्तनले राजनेता अर्थात स्टेट्स्मेन जन्माओस् । देशले सही दिशा पाओस् । धन र लाभको जगमा उभिएको वर्तमान सोच र समीकरणको अन्त्य होस् ।

स्मरणमा जेठ ३, दासढुङ्गा काण्ड । सलाम छ मदन भण्डारी र जीवराज आश्रितलाई, जो लोकप्रियताको शिखर मै मृत्युवरण गरेर हाम्रो मनमा अझै महान हुनुहुन्छ । तपाइका सहयात्रीहरू त सबै, एक पछि अर्को गर्दै, आ-आफ्नै परिवारको हैसियत परिवर्तनमा सफल भइसकेका छन् ।