धरान: लकडाउनको बेला पनि समाचार संकलन तथा रिपोर्टिङ गर्न फिल्डमा पुग्ने मोरङका पत्रकारहरुको पनि कोरोना परीक्षण गर्न स्वाब लिइएको छ ।

पत्रकार महासंघ मोरङको प्रांगणमा १६ जना पत्रकारहरुको स्वाब लिइएको हो । पत्रकारहरुमा पनि कोरोना संक्रमण पुष्टि भएपछि प्रदेश १ का मोरङ, झापा र सुनसरीका पत्रकारहरुको परीक्षण गर्ने क्रममा आज मोरङमा स्वाब संकलन गरिएको हो । विराटनगरमा पहिलो चरणमा कोभिड १९ उपचार केन्द्र र उपचारमा खटिएका चिकित्सकहरुको निकटमा रहेर समाचार संकलनमा खटिएका पत्रकारहरुको स्वाब लिइएको महासंघले जनाएको छ ।

पिसिआर विधिबाट गरिने स्वाब परीक्षणको रिपोर्ट भने आइतबार साँझसम्म आउने बताइएको छ । हिजो उदयपुरका एक सञ्चारकर्मीमा कोरोना संक्रमण पुष्टि भएको थियो भने वीरगञ्जका पत्रकार पनि संक्रमित भएका थिए । यसैबीच, पत्रकार महासंघ मोरङले जिल्लामा कार्यरत पत्रकारहरुको कोरोना भाइरस(कोभिड १९) रोगको समुह विमा गराउने भएको छ । महासंघका अध्यक्ष बन्धु पोखरेलका अनुसार विमा १ लाखको हुनेछ । यसको लागि पत्रकारहरुले ६ सय रुपैया विमा शुल्क तिर्नुपर्नेछ । महासंघले सञ्चारकर्मी सञ्चार सहकारीसँगको सहकार्यमा विमा व्यवस्था गर्न लागेको हो ।

विमा शुल्कमा पनि आ आफ्नो सदस्य भएको खण्डमा महासंघ र सहकारीले बराबरी हुने गरि ३ सय रुपैया वहन गर्ने भएको छ भने बाँकी ३ सय रुपैया विमित व्यक्तिले तिर्नुपर्नेछ । कुनै एक वा दुवै संस्थाको सदस्य नभएको पत्रकारले भने पुरै रकम तिर्नुपर्ने अध्यक्ष पोखरेलले जानकारी दिएका छन् । महासंघ मोरङ शाखाले सदस्यताको लागि सिफारिश गरेकालाई सदस्य सरह मानेर यो सुविधा दिइने जनाएको छ ।