धरान: धरानका मेयर र उपमेयरबीच खटपट शुरु भएको छ । दुवै अलग राजनीतिक पार्टीबाट निवार्चित भएकोले खटपट हुनु स्वभाविकै हो, तर पछिल्लो समय कोरोना रोकथाम, राहत वितरण, बजार व्यवस्थापनलगायतमा दुवैबीचमा राम्रो समन्वय, सहकार्य भइरहेको चर्चा चलेको थियो ।
तर, आज एक्कासी धरानका मेयर तिलक राईको अध्यक्षतामा बसेको बैठकले धरानमा होम डेलिभरी सेवा, पुस्तक पसल बन्द गर्ने निर्णय भएपछि दुवैबीचमा खटपट शुरु भएको छ । मेयरको अध्यक्षतामा बसेको बैठकले गरेको यो निर्णयप्रति बजार अनुगमन समितिकी संयोजक तथा उपमेयर मञ्जु भण्डारी सुवेदीले असन्तुष्टी जनाएकी छिन् । कानुनले नै बजारको अनुगमन तथा व्यवस्थापनको जिम्मेवारी उपमेयरलाई दिएको र आफु बजार व्यवस्थापन, सहजीकरणमा दिनरात लागि परेपनि जानकारी नगराई बैठक राखेर निर्णय गरेको भन्दै उनले आपत्ति पनि प्रकट गरिन् ।
‘ऐनले नै अनुगमन गर्ने र व्यवस्थनको जिम्मेवारी उपमेयरलाई छ, हामी दिनरात नभनी अनुगमन, व्यवस्थापन र सहजीकरणमा लागिपरेका छौं,’उनले भनिन्,‘तर आज मलाई नै थाहै नदिई बैठक बोलाएर बन्द गराउने निर्णय भएछ । पहिलो कुरा त मेयर साबले क्षेत्राधिकार मिचेर बैठक गर्नुभयो । दोस्रो कुरा, बजार व्यवस्थापनमा के कस्तो कमजोरी भएको हो ? किन बन्द गर्नुपरेको हो ? बजार अनुगमन समितिले छलफल हुनुपर्ने वा गर्नुपर्ने होइन ? बैठकको पनि प्रक्रिया हुन्छ नि ।’
उपमेयर भण्डारीले समन्वय विना मेयर आफ्नो अधिकार क्षेत्र मिचेर एकलौटीरुपमा हिड्न खोज्नु उचित नभएको पनि बताइन् । कानुनले दिएको आ आफ्नो अधिकार क्षेत्रलाई कसैले पनि मिच्न नहुने उनको भनाई छ । यता, मेयर राईले भने क्षेत्राधिकार नमिचेको बताए । उनले गुन्द्री डटकमलगायत होम डेलिभरि सेवा दिइरहेका व्यवसायीहरुलाई प्रहरीले रोकेको भन्ने गुनासो आफुसम्म आइपुगेपछि सुरक्षा निकाय, प्रशासन र उद्योग वाणिज्य संघसँग आकस्मिकरुपमा बैठक बसेको बताए ।
बैठक शुरु हुनुअघि आफुले नै उपमेयरलाई मोवाइल सम्पर्क गर्दा विराटनगरमा छुँ भनेपछि मेयरकोरुपमा बैठकको सहजीकरण गरेको उनले बताए । ‘यो आकस्मिक बैठक हो । केही साथीहरुले प्रहरीले होम डेलिभरी सेवा दिदा रोक्यो भन्ने गुनासो गरेपछि डिएसपी सापलाई फोन गरे, छलफल नै गर्नुपर्ने भएपछि प्रमुख प्रशासकीय अधिकृतलाई इलाका प्रशासन, उद्योग वाणिज्य संघलाई पनि बोलाउनुस् भनेको थिएँ,’उनले भने,‘क्षेत्राधिकार मिचेको भन्ने होइन, म आफैले पनि उपमेयरलाई फोन गरेको छुँ, विराटनगरमा छुँ भनेपछि बैठकको सहजीकरण गरिदिएको हो ।’
यही हुन् बैठकको निर्णयहरु:
मेयर राईका अनुसार फाष्टफुड खोल्न अनुमति नभएको र स्वास्थ्यको मापदण्ड पनि नहुने, संक्रमण बढाउने जोखिम भएको कारण बन्द गराउने निर्णय भएको हो । धरानमा केही होटल तथा फष्टफुष्ट व्यवसायीहरुले होम डेलिभरी सेवा दिदै आएका थिए । यस्तै, धरानका ठुला ३ डिपार्टमेन्ट स्टोर भाटभटेनी, गोर्खा र बराहले दिदै आएको होम डेलिभरी सेवा पनि बन्द गराउने निर्णय भएको छ । ती डिपार्टमेन्ट स्टोरहरुलाई पनि अन्य खाद्यान्न पसलहरुलाई झैं बिहान ६ देखि ९ बजेसम्म मात्र खोल्न समय दिने निर्णय भएको मेयर राईले जानकारी दिए । ‘यसो गर्दा सबैलाई एकरुपता पनि हुने भएकोले ती ठुला डिर्पाटमेन्टहरुको पनि डेलिभरी सेवा बन्द गरिएको छ,’मेयर राईले भने ।
बैठक चलिरहदा नै पुस्तक पसलहरुको पनि कुरा उठेपछि तत्काल स्टेशनरी व्यवसायीहरुलाई बोलाएर छलफल गरिएको मेयर राईको भनाई छ । भिडभाड भएको र कतिपय अभिभावकहरुले बच्चासमेत लिएर आएको भन्ने कुरा आएपछि व्यवसायीहरुकै सहमतिमा बन्द गर्ने निर्णय भएको मेयर राईले बताए । ‘व्यवसायीहरुले नै बच्चा लिएर आउदा हामीलाई नै समस्या भयो भने । पुस्तक पनि आएको छैन भन्ने कुरा आएपछि उहाँहरुले नै बन्द गराउने कुरामा सहमति जनाउनुभएको हो,’मेयर राईले भने ।