धरान: सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा बुधबार धरानका उद्योगी व्यवसायी र बैंकर्सहरुबीच कोभिड १९ ले सृर्जना गरेको बिषम परिस्थितिबारे छलफल भएको छ ।
वर्तमान अवस्थामा उद्योगी, व्यवसायीहरु समस्यामा रहेको र यसले बैंक तथा उद्योगी, व्यवसायीहरुबीच समस्या उत्पन्न गराएकोले समाधानको लागि छलफल आयोजना गरिएको हो । संघका अध्यक्ष गिरिधारी सापकोटाको अध्यक्षतामा भएको छलफलमा धरानका बैंकका प्रमुखहरुको उपस्थिति रहेको थियो । छलफल कार्यक्रमबाट प्राप्त सुझावहरुलाई सम्बन्धित बैंकहरुले केन्द्रीय कार्यालयमा सुझावका लागि प्रेषित गरिने साथै संघले पनि सहजीकरण गर्ने उद्योग वाणिज्य संघका अध्यक्ष सापकोटाले बताए ।
धरान उपमहानगरपालिकाका उद्योग प्रवद्र्धन समितिका संयोजक कृष्णकुमार अग्रवालले हाल बैंकहरुले तरलतालाई मध्य नजर गर्नुपर्ने बताए । उनले सामाजिक उत्तरदायित्व अन्तर्गत धरान उपमहानगरपालिकाको राहत कोषमा सम्पूर्ण बैंकहरुले समेत सहभागिता जनाउनु पर्ने बताएका थिए । यस्तै, पर्यटन व्यवसायी वासुदेव वरालले राष्ट्र बैंकको निर्देशानुसार बैंकले ब्याज नघटाउनु, हालको अवस्थामा व्यापारीहरुलाई बैंकले कालोसूचीमा राख्ने धम्की सहित ताकेता गर्नु जस्ता कारणले भोली व्यवसायीहरुले आत्महत्या गर्नसक्ने सम्मको सम्भावना हुनसक्ने बताए ।
व्यवसायीहरुबीच नङ र मासुको सम्बन्ध हुनुपर्नेमा हाल आर्थिक अवस्था धराशायी भएको बेला बैंकबाट व्यापारीहरुलाई धेरै समस्या आएमा व्यापारीहरु सहेर नबस्ने र आन्दोलनमा उत्रन समेत पछि नपर्ने संयुक्त ग्रिल व्यवसायी संघका अध्यक्ष राजकुमार राईले बताए । कार्यक्रममा सुनसरी उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य विष्णु बराल, सुनसरी सुनचा“दी व्यवसायी संघका अध्यक्ष्ँ किसन मास्के, होटल व्यवसायी के.पी. पालुङवा, व्यवसायी उदयचन्द्र भगतले आफ्ना समस्याहरु राखेका थिए ।
बैंकर्सको तर्फबाट मितेरी डेभलपमेन्ट बैंकका कार्यकारी प्रमुख तुलसीप्रसाद वस्तीले राष्ट्र बैंकको निर्देशन सहर्ष रुपमा पालना गर्ने बताएका थिए । सुनसरी उद्योग वाणिज्य संघका महासचिव राजेश अग्रवालले सञ्चालन गरेको सो कार्यक्रममा प्रथम उपाध्यक्ष शिवराज श्रेष्ठले व्यवसायीहरुलाई परेको पीर मर्काका लागि कार्यक्रमको आयोजना गरिएको तथा बैंकहरुले सदैव सहजिकरण गर्नुपर्ने विचार सहित धन्यवाद ज्ञापन गरेका थिए ।