धरान: धरान ८ स्थित शहीद स्मृति माविको दक्षिण पुर्वतर्फको कक्षा कोठा भएको भवन भत्काउनुपुर्व वैकल्पिक कक्षा कोठाको व्यवस्था गर्ने सहमति भएको छ ।

मेयर, उपमेरसहित विद्यालय व्यवस्थापन समिति, उपभोक्ता समितिबीच आज बिहिबार दिउँसो भएको छलफलले यसअघिको सहमति अनुसार नै जाने समझदारी बनेको हो । गत कार्तिक २५ गतेको लिखित सहमतिमा ३ वटा बाल कक्षाकोठा भत्किने भएकोले पहिला स्थानान्तरणको लागि वैकल्पिक व्यवस्था गर्ने भन्ने सहमति छ । सोही सहमतिअनुसार वैकल्पिक कक्षा कोठा निर्माणको लागि उपभोक्ता समितिले ५ लाख उपमहानगरपालिकामा जम्मा पनि गरिसकेको छ । आज बिहान स्थानीयबासीले कार्तिक २५ गतेको सहमति कार्यान्वयनमा ढिलाई भएको भन्दै विद्यालयको पुर्वतर्फको कम्पाउण्ड वाल भत्काइदिएका थिए ।

थप ३ वटा कक्षा कोठा भत्काउनुअघि भने विद्यालय व्यवस्थापन समितिसँग छलफल भएको थियो । छलफल पछि संयुक्तरुपमा व्यवस्थापन समिति र उपभोक्ता समिति उपमहानगरपालिकामा गएर मेयर, उपमेयरसँग छलफल गरेको थियो । ‘विगतको सहमतिअनुसार पहिला वैकल्पिक कक्षा कोठा बनाउने सहमति भयो,’विद्यालय व्यवस्थापन समिति अध्यक्ष एवं पुर्वमेयर मनोजकुमार मेन्याङ्बोले भने,‘त्यसको लागि उपमहानगरले ५ लाख दिने र उपभोक्ता समितिले ५ लाख दिने भन्ने छ । उपभोक्ताले जम्मा गरिसकेको छ ।’

sahid5

पुर्वतर्फको ३ वटा कक्षा कोठा भत्काउने, ड्रइङ, डिजाइन तथा लागतस्टिमेट भएर सम्झौता भइसकेपछि मात्र बाटो तथा ड्रेनको काम शुरु हुने पनि मेन्याङ्बोले बताए । भत्काउन र वाल बनाउनको लागि लाग्ने खर्च उपमहानगरले नै व्यहोर्ने सहमति छ । उपमहानगरको ५ लाख र उपभोक्ताले दिएको ५ लाख गरी १० लाखले तत्काल वैकल्पिक कक्षा कोठा बनाइने पनि उनले बताए ।

स्कुलले दक्षिण पुर्वतर्फ कम्पाउण्ड वाल तथा कक्षा कोठाको भवन निर्माण गरेपछि त्यसक्षेत्रका स्थानीयले बषौंदेखि प्रयोग गर्दै आएको बाटो बन्द भएको थियो । साथै, बर्षामा पानीको निकास नहुदा स्कुलबाट निस्कने पानीको भेलले दक्षिणतर्फको घरखेतमा क्षति पुग्ने गरेको भन्दै स्थानीयबासी रुष्ट थिए । पटक पटक बाटो र पानी दुवैको निकास दिन स्कुललाई आग्रह गरेपनि सुनुवाई नभएको स्थानीयको गुनासो छ । उनीहरुले उपमहानगरपालिकामा पनि निवेदन दिएका थिए । त्यहाँ पनि थुप्रै पटक छलफल भएपनि विवाद समाधान भएन । गतको मंसिर १४ गतेको उपनिर्वाचन अघि कार्यवाहक मेयर भण्डारीले स्थानीयसँग बैठक बसेर कम्पाउण्ड वाल र भवन भत्काउन सहमति गरेकी थिइन् । सहमतिमा विद्यालयका प्रअ राम विष्टको पनि सहमति छ ।sahid10 sahid9