धरान: सबै कार्यपालिका सदस्यहरुलाई बैठकबारे खबर नपुगेपछि आज धरानको कार्यपालिका बैठक स्थगित भएको छ ।

कार्यपालिका बैठकमा ८ जना निवार्चित कार्यपालिका सदस्यहरु उपस्थित नभएको र खोजी गर्दा बैठकबारे कसैलाई पनि खबर नपुगेको थाह भएपछि स्थगित गरिएको प्रवक्ता एवं वडा नं २० का अध्यक्ष मणिराम राईले जानकारी दिए । ‘बिहान ८ बजे भनिएको बैठक ९ बज्दा पनि उहाँहरु आउनु भएन । किन रहेछ भनेर बुझ्दा बैठकबारे खबर नै नभएको भन्ने जानकारी भयो,’प्रवक्ता राईले भने,‘त्यसैले आजको बैठक स्थगित गरियो ।’ प्रवक्ता राईका अनुसार बैठक भोली आइतबारलाई सारिएको छ ।

उपमेयर मञ्जु भण्डारी सुवेदीले प्रविधिक त्रुटीले कार्यपालिका सदस्यहरुलाई खबर नपुगेको कारण बैठक स्थगित भएको बताइन् । सुचना शाखाबाट म्यासेजमार्फत बैठकको खबर गर्दा वडाअध्यक्षहरुलाई मात्र पुगेको उनको भनाई छ । ‘सुचना पठाउदा प्राविधिक त्रुटी भएछ । अध्यक्ष ज्युहरुलाई मेसेज पुग्यो, कार्यपालिका सदस्यहरुलाई पुगेनछ,’उनले भनिन्,‘खास कार्यपालिका सदस्यहरु नै नभएपछि आजलाई बैठक स्थगित भयो । अब भोली हुन्छ ।’